सिमरास्थित एकता स्कुलको दोस्रो ‘एसक्यूसी’ सम्मेलन सम्पन्न

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एकता स्कुलमा ‘विद्यार्थी गुणस्तर सर्कल (एसक्यूसी)’ को दोस्रो सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने उदेश्यसहित सम्मेलन आयोजना गरिएको हो ।
विद्यालयले अघिल्लो वर्षदेखि एसक्यूसी सम्मेलन आयोजना गर्दै आएको छ । एसक्यूसीको उदेश्य विद्यार्थीहरूको चौतर्फी विकास गर्दै उनीहरूलाई जिम्मेवार, सक्षम र गुणस्तरीय नागरिक बनाउन प्रेरित गर्नु हो । विद्यार्थीहरूलाई आफ्ना समस्याहरू आफैं पहिचान गरी समाधान गर्न सक्षम बनाउने र भविष्यमा अनुशासित, नेतृत्वदायी बन्न सहयोग भएकाले एसक्यूसी सुरु गरिएको गरिएको एकता स्कुलका सञ्चालक तथा शिक्षक दिवस न्यौपानेले जानकारी दिएका छन् ।

न्यौपानेका अनुसार विद्यार्थीहरूले आफ्नो समूह वा विद्यालयस्तरमा देखिने व्यावहारिक समस्याहरू आफैं पहिचान गरी वैज्ञानिक विधिबाट समाधान गर्न सिक्छन् भने सामूहिक रूपमा काम गर्दा सहयोग, सहकार्य र नेतृत्व लिने क्षमताको विकास हुने गर्दछ । यसैगरी विद्यार्थीहरूलाई अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएर सभ्य नागरिक बनाउन एसक्यूसीले मद्दत गर्नेछ ।
एसक्यूसी अन्तर्गत विभिन्न गतिविधि, छलफल तथा सम्मेलनहरूमा सहभागी हुँदा विद्यार्थीहरूको बोल्ने, विचार व्यक्त गर्ने र आत्मविश्वासका साथ प्रस्तुति दिने कलामा सुधार आउने, कठिन परिस्थितिमा पनि निर्धक्क भएर तर्कपूर्ण र सिर्जनात्मक ढङ्गले विकल्पहरू खोज्ने बानीको विकास हुनेछ । किताबी ज्ञानबाहेक व्यावहारिक जीवन उपयोगी सीपहरू सिकाइने हुनाले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा एसक्यूसीको महत्व निकै रहेको विद्यालयका प्रिन्सिपल मदन रिजालको भनाइ छ ।

एसक्यूसीको विद्यालय सम्मेलनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कक्षा १० का दुई समूहले काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा समेत सहभागिता जनाउने भएका छन् ।
विद्यालयका प्रिन्सिपल रिजालको अध्यक्षता तथा क्वेस्ट नेपालका केन्द्रीय सदस्य भोजराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा विभिन्न विद्यालयका प्रिन्सिपलहरु वसन्त ढकाल, किशोर श्रेष्ठ, सागर ठाडा मगर, नरेन्द्र तामाङ, सुभाष अधिकारी, शान्त राम खनाल, चन्दन चौधरीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कक्षा १० की छात्रा ऐश्वर्य श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् भने अर्की छात्रा युनिका कँडेलले स्वागत गीत प्रस्तुत गरेकी थिईन् । कार्यक्रमको सहजीकरण कक्षा १० का छात्र प्रतीक बराल र छात्रा स्मृति श्रेष्ठले गरेका थिए ।










