जनजीविकाका मुद्दा उठाउँदै नेपाली कम्युनिष्ट पार्टीले बारा प्रशासनमा बुझायो ज्ञापनपत्र


eShilalekh

१ भाद्र २०८३, सोमबार १७:०९

सिमराः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति बाराले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सुशासनको नारा दिएर बनेको सरकारको कार्यशैलीले जनतामा निराशा छाएको भन्दै नेकपाले जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

जनजीविकाका मुद्दा उठाईएको उक्त सात बुँदे ज्ञापनपत्र नेपाली कम्युनिष्ट पार्टी बाराकी संयोजक गीता कंडेलले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई बुझाएकी थिइन् । ज्ञापनपत्रमा किसानहरूका लागि तत्काल सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन तथा सर्वसाधारण र होटल व्यवसायीका लागि ग्यास सिलिन्डरको सहज आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ ।

यसैगरी जिल्लामा दैनिक १५ देखि २० पटकसम्म हुने अघोषित लोडसेडिङको अन्त्य गर्न र विद्युत महसुलमा लगाइएको अनावश्यक कर हटाउन सरकारको ध्यानाकर्षण गराइएको छ। मालपोत, नापी, जिल्ला प्रशासन र यातायात जस्ता सरकारी कार्यालयहरूमा सर्वसाधारणले भोग्नुपरेको ढिलासुस्ती र लापरवाही अन्त्य गरी छिटोछरितो सेवा दिन आग्रह गरिएको छ।

नेकपाले सरकारी अस्पतालहरूमा हप्ताको दुई दिन बिदा दिने व्यवस्था हटाई २४ घण्टा विशेषज्ञ सेवा सञ्चालन गर्न, जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सर्पदंश उपचार र एन्टी स्नेक भेनमको उचित प्रबन्ध मिलाउन तथा रेबिज भ्याक्सिनको अभाव तत्काल हटाउन माग गरेको छ । बजारमा बढ्दै गएको अनियन्त्रित महँगी नियन्त्रणका लागि बजार अनुगमन गर्न समेत ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराईएको छ ।

नेकपाले देशमा जटिल परिस्थिति सिर्जना भएको र जनताले न्यूनतम सेवासुविधा समेत पाउन नसकेको, आत्मदाहका घटना समेत भईरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्