डीएसपी वकिल सिंह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

सिमराः जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी वृत्त सातदोबाटोका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) वकिलबहादुर सिंहलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा कानुनको पालनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै परिसरले सिंहलाई उक्त सम्मान प्रदान गरेको हो ।
डीएसपी सिंहले अपराध अनुसन्धानका क्रममा प्रविधिको प्रभावकारी प्रयोग गरी कार्यसम्पादनलाई नतिजामुखी बनाएको, समाजमा शान्ति सु-व्यवस्था एवं अमनचयन कायम गर्दै प्रहरी संगठनको गरिमा उच्च राख्न योगदान पुर्याएको, सातदोबाटो वडा एरियामा चोरी, जुवातास तथा लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चालेको, विभिन्न मुद्दामा अदालतबाट सजाय ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै परिसरले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
सिंहलाई एक कार्यक्रमकाबीच परिसरका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले प्रशंसापत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र, प्रहरी नायब उपरीक्षक मधुकुमार थापालगायत उपस्थित थिए ।
सिंह यसअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयामा कार्यरत थिए । करिब १४ महिना मधेस प्रदेशको प्रवक्ता समेत रहेर काम गरेका सिंह तीन महिना अघि सरुवा भएर सातदोबाटो गएका हुन् ।







