वीरगन्ज कारागारबाट फरार कैदी भारतको आदापुरबाट पक्राउ

सिमराः वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका एक कैदीलाई भारतको मोतिहारीस्थित आदापुरबाट नियन्त्रणमा लिइएको छ । सरसफाइ गर्ने क्रममा फरार भएका पर्सा पोखरिया नगरपालिका-४ सतवरियाका ३० वर्षीय सुनिल साहलाई आदापुरबाट नियन्त्रणमा लिइएको हो ।
कारागार सरसफाइ भईरहेका बेला फोहोर फाल्ने क्रममा साह पर्खाल नाघेर फरार भएका थिए । उनी फरार भएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेर खोजी गरिएको थियो । साहको खोजीमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।
खोजीकै क्रममा बिहारको आदापुरबाट उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
साह जबरजस्ती करणी मुद्दामा ११ वषैदेखि कैद भुक्तान गरिरहेका थिए ।





