गरिमा हत्या प्रकरण: पाँच बुँदे सहमतिमा परिवारको असहमति, राजमार्ग अझै अवरुद्ध

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घट्नालाई लिएर पीडित परिवारका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच भएको पाँच बुँदे सहमतिलाई पीडित परिवारले अस्वीकार गरेका छन् । परिवारको असहमतिकै कारण मंगलबार बिहान ११ बजेदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथअन्तर्गत पथलैया-वीरगन्ज सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
बिहीबार राति सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा बसेको वार्तामा स्थानीय प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूबीच सहमति जुटेको थियो । वार्तामा नगर प्रमुख राजन पौडेल, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, जिल्ला सुरक्षा समितिका पदाधिकारी, पीडित परिवारका प्रतिनिधि, राजनीतिक दलका नगर अध्यक्ष, सभापतिसहितका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
वार्तामा पीडित परिवारका लागि उचित राहत र रोजगारीको व्यवस्था गर्न स्थानीय तहसमेतको सहभागितामा नेपाल सरकार गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने, घटनामा संलग्न आरोपीहरू हिरासतमा रहेपनि अनुसन्धानका क्रममा अन्य थप दोषीहरू देखिएमा नियमानुसार कडा कारबाही गर्ने, जिल्लाको सुरक्षा चुनौतीको विश्लेषण गरी भरपर्दो र विश्वसनीय सुरक्षाको प्रबन्ध मिलाउने, जिम्मेवार प्रहरी अधिकृतलाई कारबाही गर्ने सहमति भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्री, प्रहरी निरीक्षक प्रकाश थापालाई भने सरुवा गरिसकेको छ ।
सहमतिपश्चात् नगर उपप्रमुख अधिकारीले सडकमा धर्ना दिइरहेका परिवारलाई सहमतिबारे जानकारी गराएका थिए । तर मृतक बालिकाका बुवा मनोज र आमा मनमती चौधरीले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको भन्दै सडक छोड्न अस्वीकार गरेका छन् । आफूहरूलाई वार्ताबारे जानकारी नै नदिइएको बताउँदै उनीहरुले दोषीलाई आफूहरूको हातमा बुझाउनुपर्ने र प्रधानमन्त्री, गृहमन्त्री तथा कानुनमन्त्री स्वयम् उपस्थित भई न्यायको सुनिश्चितता दिनुपर्ने माग राखेका छन् ।
यता वार्तामा जानुअघि आन्दोलनरत पक्ष, जनप्रतिनिधिबीच छलफल भएर प्रतिनिधि तोकिएको थियो । पीडित परिवारको तर्फबाट मृतक बाकिकाकी हजुरबुवा हरेराम चौधरीले वार्तामा प्रतिनिधित्व गरेका थिए । पीडित पक्ष वार्तामा बस्न सहमति भएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली वार्तास्थल आइपुगेका थिए ।
आन्दोलनको अगुवाई गरेकी स्थानीय शिला खनालले पीडित परिवारले हरेराम चौधरीलाई अधिकार दिई पठाएपछी मात्रै वार्ता बसेको जानकारी दिइन् । जीतपुरसिमरा उपमहानगरपालिका-१ का वडाअध्यक्ष हिराबहादुर गुरुङले पीडित परिवारकै सहमतिमा प्रतिनिधि चयन गरेर वार्ता भएको बताए । तर अहिले मृतककी आमा र बुवाले सहमतिनै नमान्ने अडान लिएपछी सर्वपक्षीय सहमति कार्यान्वयनको प्रक्रिया अन्यौलमा परेको छ ।







