एमाले मधेस प्रदेशको बैठक: रसुवा बाढीको घटनाप्रति दुःख व्यक्त, प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउने


eShilalekh

१४ भाद्र २०८३, आईतवार २१:३६

बर्दिबास: नेकपा एमाले मधेश प्रदेस कमिटीको सचिवालय बैठक आइतबार बर्दिबासमा सम्पन्न भएको छ । बैठकले भाद्र १० गते तिब्बतको हिमताल फुट्दा भोटेकोसीको बाढीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा र चितवन लगायतका क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार, राहत तथा पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

यसैगरी एमाले मधेश प्रदेश कमिटीले प्रदेशको तर्फबाट पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्रमा मधेशका आठवटै जिल्लाबाट २५ जनाका दरले स्वयंसेवक खटाउने निर्णयसमेत गरेको छ ।

बैठकमा ‘मिसन पार्टी जागरण अभियान’ लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सो अभियानलाई सशक्त रूपमा अगाडि बढाउन भाद्र २१ गते बर्दिबासमा ‘मिसन जागरण अभियान अभिमुखीकरण कार्यक्रम’ आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले किसानहरूलाई तत्काल मल, बिउ तथा कीटनाशक औषधिको प्रबन्ध गर्न, एलपीजी ग्यास लगायत इन्धन र उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउन र आकाशिँदो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । स्वास्थ्य बीमा सुविधामा सङ्घीय सरकारले अनुदान कटौती गरेकोमा आपत्ति जनाउँदै बजेटमा थप व्यवस्था गरी उक्त सेवा अविलम्ब सुचारु गर्न बैठकले माग गरेको छ।

मधेशमा बढ्दै गइरहेको हत्या, हिंसा र बलात्कारका घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन र युवाहरूमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि विशेष योजना ल्याउन बैठकले सरकारसँग माग गरेको प्रदेश सचिव मनोज पौडेलले बताए । उनले जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उल्टै भूमिहीन सुकुम्बासीहरू बस्दै आएको घरबार भत्काएर सुकुम्बासीको ज्यान गइरहेको घटनाप्रति आपत्ति जनाउँदै विस्थापितहरूको तत्काल बसोबास र मधेशका भूमिहीनलाई जग्गाको व्यवस्था गर्न समेत बैठकले माग गरेको बताए ।

बैठकले स्वदेशमै उत्पादित विद्युत्‌मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिनुका साथै निर्माण प्रक्रियामा रहेको बर्दिबास मेडिकल कलेजका लागि यस आर्थिक वर्षमा थप स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढाउन नेपाल सरकारसँग माग गरेको छ । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्