जीवन ज्योती सहकारीद्वारा रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ५ लाख ५ हजार सहयोग

कलैयाः बाराको कलैया उपमहानगरपालिका–१ स्थित जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाका बाढी प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि पाँच लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा जनधनको क्षति भएपछि पीडितहरूलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो । सहकारीले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरेको छ ।
सहकारी संस्थाका अध्यक्ष दिलिप चौधरीका अनुसार प्राकृतिक विपत्तिका बेला संकटमा परेका नागरिकहरूलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले संस्थाको सञ्चालक समिति तथा सदस्यहरूको निर्णय अनुसार कोषमा रकम हस्तान्तरण गरिएको हो । ‘बाढीका कारण ज्यान गुमाएका तथा घरबारविहीन भएका बाढीपीडितहरूप्रति हामी गहिरो सहानुभूति प्रकट गर्दछौं’ अध्यक्ष चौधरीले भने ‘साना-साना सहयोगले पनि विपद्को घडीमा पीडित परिवारलाई ठूलो सहारा पुग्छ भन्ने विश्वासका साथ हामीले यो रकम जम्मा गरेका हौ ।’
कलैयामा लामो समयदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस जीवन ज्योतीले व्यावसायिक कारोबारका साथै सामाजिक तथा मानवीय कार्यहरूमा पनि अग्रसरता देखाउँदै आएको छ ।







