कोल्हबीमा संकलित राहत सामग्री बाढीपीडितका लागि हस्तान्तरण

सिमराः बाराको कोल्हबीमा स्थानीयद्धारा संकलन गरिएको राहत सामग्री नुवाकोट लगेर हस्तान्तरण गरिएको छ । कोल्हबी उद्योग वाणिज्य संघको नेतृत्वमा संकलन भएको सामग्री नुवाकोटको बिदुर लगेर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष रामप्रसाद प्रसाईंको नेतृत्वमा राजनीतिक दल, व्यवसायी, समाजसेवी र स्थानीयको सहभागितामा राहत संकलन गरिएको थियो । स्थानीयले एक लाख २६ हजार तीन सय ३० रुपैयाँसहित २५ बोरा चामल, ३४ बोरा चिउरा, ४६ कार्टुन चाउचाउ, १६ बोरा भुजा, चार बोरा सोयाबिन, १० कार्टुन बिस्कुट, एक बोरा दालमोठ, ३८ प्याकेट पानी, एक बोरा नुन, दाल, सेनिटरी प्याड, मास्क, त्रिपाललगायतका सामग्री संकलन गरेको थियो ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी जिन्सी सामान प्रभावित क्षेत्रमा लगिएको हो । राहत सामग्री पुर्याउन कोल्हबी नगरपालिकाका निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी र स्थानीय युवा रसिक सुवेदीलगायतको टोली नुवाकोट पुगेको थियो।







