नेकपा एमाले मधेस प्रदेश कमिटीमा बाराका आठ नेता मनोनित


eShilalekh

१७ भाद्र २०८३, बुधबार २१:२१

सिमराः नेपाल कम्युनिस्ट पार्टी (एमाले) मधेस प्रदेश कमिटीको सदस्यमा बाराबाट आठ जना नेताहरू मनोनित भएका छन् । बर्दिबासमा भदौ १४ गते बसेको एमाले प्रदेश सचिवालय बैठकले मधेस प्रदेशभरिबाट कुल ६० जनालाई कमिटीमा मनोनित गर्ने क्रममा बाराका आठ जनालाई जिम्मेवारी दिएको हो ।

प्रदेश कमिटी सदस्यमा मनोनित हुनेहरूमा जनप्रतिनिधिदेखि पूर्व प्रदेश कमिटी सदस्यसम्म रहेका छन् । मनोनित हुने नेताहरूमा राजपति देवी जयसवाल, विनोद साह, सुरथ पुरी, आनन्द थामी, एकबहादुर श्रेष्ठ, इश्वर ढकाल, कौशल सिंह र ताराचन्द्र साह रहेका छन् ।

जयसवाल मधेस प्रदेशसभा सदस्य हुन् भने साह कलैया उपमहानगरपालिकाका नगर प्रमुख र पुरी निजगढ नगरपालिकाका नगर प्रमुख हुन् । थामी, श्रेष्ठ, ढकाल, सिंह र साह पूर्व प्रदेश कमिटी सदस्य हुन् ।

पार्टीको संगठन विस्तार तथा प्रादेशिक संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले बर्दिबास बैठकबाट यो निर्णय गरिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्