उद्यमशील सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा तामाङ सर्वसम्मत निर्वाचित

सिमरा: उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाको अध्यक्षमा धनबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१५ सुन्दरबस्तीमा शनिबार सम्पन्न सहकारीको १४औं साधारणसभा तथा अधिवेशनले तामाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा लालगुरुङ, सचिवमा सूर्यनाथ अधिकारी, कोषाध्यक्षमा सुस्मिता चौधरी रहेका छन् । यसैगरी सदस्यम सोनी गुरुङ, मिना तामाङ, केशव न्यौपाने, देवकुमार चौधरी र बिरा महतोलाई चयन गरिएको छ ।
साधारणसभाले बिमला तामाङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरूमा अर्जुन घले र मिना घले रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका-१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जीतपुरसिमरा वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँ, विन्दवासिनी सहकारीका अध्यक्ष रुपलाल चौधरीलगायतका प्रतिनिधिहरूले सहकारीले समुदायमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
भूतपूर्व सैनिक समुदायको अग्रसरतामा स्थापित उक्त सहकारीले बचत तथा ऋण कारोबारका साथै विभिन्न सिपमूलक तालिममार्फत स्थानीयलाई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरूलाई नगदसहित सम्मान समेत गरिएको थियो । उद्घाटन समारोहको सहजीकरण व्यवस्थापक कृष्णप्रसाद नेपालले गरेका थिए ।







