धनुषामा दम्पती मृत फेला, चार वर्षीय छोरा पनि घाइते


eShilalekh

८ कार्तिक २०८३, आईतवार ०८:४८

सिमरा: धनुषामा श्रीमान–श्रीमती मृत फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते अवस्थामा भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका-३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घरमै घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको छ । उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले अनुमान गरेको छ । 

रिनादेवीका श्रीमान् ३५ वर्षीय उमेश यादव सोही ठाउँबाट करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृतक उमेशको स्थायी घर मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट फर्किएका थिए भने घटना हुनुभन्दा एक दिनअघि मात्र ससुराली पुगेका थिए ।

घटनास्थलमा भेटिएका मृतक दम्पतीका चार वर्षीय छोराको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहारको घाउ देखिएको छ । घाइते बालकसहित दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्