वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित आठ जना पक्राउ

सिमराः वीरगन्जस्थित एक क्यासिनोबाट प्रहरीले गाउँपालिकाका अध्यक्ष, नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित आठ जनालाई पक्राउ गरेको छ । गैरकानूनीरुपमा क्यासिनोभित्र प्रवेश गरेर जुवा खेलिरहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, सखुवा प्रसौनीका चन्दन सहजी, वीरगन्ज–११ क ओमप्रकाश बैठा, क्यासिनोका कर्मचारी बिजयकुमार पटेल, दिनेश पटेल, जयदेव साह र प्रदेशी साह रहेका छन् ।
वीरगन्ज–१४ स्थित होटल क्लार्कमा रहेको गोल्डेन फिंगर गेमिङ जोन क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचना आएपछि प्रहरी पुगेर पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
यता गाउँपालिकाका अध्यक्ष यादवले आफू क्यासिनो भित्र गएपनि जुवा भने नखेलेको प्रतिक्रिया दिएका छन् ।







