जीतपुरसिमराको बडहर्वा क्षेत्रको दुर्घटना जोखिम स्थानमा ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्न सुरु


eShilalekh

२३ भाद्र २०८३, मंगलवार १७:५१

सिमराः सवारी दुर्घटना न्यूनिकरणका लागि जीतपुरसिमरा उपमहानगरपालिका-१८ स्थित बडहर्वामा मंगलबारदेखि सडकको दायाँबायाँ ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सुरु गरिएको छ । मौवापैनी पुल वरपरको क्षेत्रमा ड्रम र बाँस गाँडेर स्टिकर टाँस्न थालिएको हो ।

नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाको समन्वय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढको सहयोगमा अभियान सुरु गरिएको हो । अभियान शुभारम्भ गर्ने क्रममा वडाध्यक्ष चतुरबाबु वाग्लेको समेत उपस्थिति रहेको थियो ।

ट्राफिक नियमको बेवास्ता र लापरवाहीका कारण बडहर्वा क्षेत्रको सडकमा दुर्घटनाको संख्या बढ्दो अवस्थामा छ । दुर्घटनाबाट जनधनको क्षति समेत भईरहेको छ । रातको समयमा हुने दुर्घटनामा कमी ल्याउन रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरिएको महासंघका सचिव खतिवडाले बताए ।

दुर्घटना न्युनिकरण अन्तर्गतको उक्त कार्यक्रममा नेकपा एमाले बाराका सचिवालय सदस्य बसन्त खतिवडा, मौवा देवी युवा क्लबका अध्यक्ष निर्मल कुमार यादव, सचिव जगदीप कोइराला, सामाजिक अगुवा भरत सुहाल, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार रामप्रित चौधरी र ट्राफिक प्रहरी पोस्ट पिलुवाका इन्चार्ज रामजनम रायलगायतको सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत वडाका बडहर्वा, उचिडी, मनहर्वा, लामीडाँडा र पैनिटोल लगायत दुर्घटनाको जोखिम रहेका स्थानहरूमा स्टिकर टाँसिनेछ । अभियानलाई निरन्तरता दिन ट्राफिक इन्चार्ज रायले मौवादेवी युवा क्लबका अध्यक्ष यादवलाई स्टिकर हस्तान्तरण गरेका छन् । स्थानीय क्लबको अगुवाइमा बाँकी जोखिमपूर्ण स्थानहरूमा स्टिकर टाँस्ने काम अघि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्