वीरगन्जस्थित नारायणी अस्पतालमा ५० वटा शव अट्ने शवगृह निर्माण हुने


eShilalekh

२५ भाद्र २०८३, बिहीबार १७:४७

वीरगन्जः वीरगन्जस्थित नारायणी अस्पतालमा ५० वटा शव राख्न सकिने क्षमताको शवगृह निर्माण गरिने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने नीतिगत निर्णय गरेसँगै नारायणी अस्पतालमा पनि यो महत्वपूर्ण पूर्वाधार बन्ने निश्चित भएको हो ।

मन्त्रालयको यस निर्णयअनुसार नारायणी अस्पतालसहित कोशी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण वा क्षमता विस्तार गरिनेछ ।

यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

विपद्का समयमा शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउने तथा फरेन्सिक र मेडिको–लिगल सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यो योजना अघिसारिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विभिन्न विपद्का क्रममा, विशेषगरी पछिल्लो भोटेकोशी बाढीका समयमा शव व्यवस्थापनमा देखिएका गम्भीर चुनौती र कठिनाइबाट पाठ सिकेर भविष्यमा यस्तो समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण अपरिहार्य रहेको स्पष्ट पारेकी छन् ।

फरेन्सिक मेडिसिनको महत्व दिनानुदिन बढ्दै गएको सन्दर्भमा मेडिको लिगलसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन शवगृहको क्षमता विस्तारले महत्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताको भनाइ छ । यस प्रकारका पर्याप्त क्षमतायुक्त शवगृहहरू सञ्चालनमा आएपछि आपतकालीन अवस्थामा शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाहरू अत्यन्त व्यवस्थित ढंगले पूरा गर्न सहज हुने मन्त्रालयको विश्वास छ ।

विपद्का बेला शव व्यवस्थापनको प्रमुख जिम्मेवारी सम्बन्धित अस्पतालहरूले नै प्रभावकारी रूपमा बहन गर्नुपर्ने भएकाले संघीय स्तरका यी स्वास्थ्य संस्थामा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिइएको हो ।

नारायणी अस्पतालमा ५० वटा शव अट्ने क्षमताको आधुनिक शवगृह निर्माण भएपश्चात वीरगन्ज तथा यस आसपासका क्षेत्रमा हुन सक्ने कुनै पनि ठूला विपद्, दुर्घटना वा आकस्मिक घटनाहरूका बेला उत्पन्न हुने शव व्यवस्थापनको समस्या सदाका लागि हल हुने र यसबाट समग्र स्वास्थ्य सेवा प्रणाली थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्