एमाले जीतपुरसिमरा नगर कमिटीको बैठक सम्पन्न, असोजभित्र वडा अधिवेशन गर्ने निर्णय

सिमराः नेकपा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत जीतपुरसिमरा उपमहानगर कमिटीको बैठक शनिबार सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा बसेको बैठकमा विभिन्न तहका शिर्ष नेता र नगर कमिटी पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भएका एमाले केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज एवम् पूर्वसांसद अच्युत मैनालीले एमालेलाई जनस्तरसम्मै थप सुदृढ र अनुशासित बनाउन ‘मिसन पार्टी जागरण अभियान’ को ठूलो भूमिका रहने बताए । मैनालीले संगठन विस्तार, पार्टी शुद्धीकरण र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन सबै नेताकार्यकर्ताहरू एकजुट भएर लाग्न अनुरोध गरे ।
यसैगरी एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले पार्टीको विचार र नीतिलाई तल्लो तहका जनतासम्म पुर्याउन अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले स्थानीय तहमा पार्टीलाई एक नम्बरको शक्ति बनाउन कार्यकर्ताहरूले गाउँ-गाउँ र टोल-टोलमा पुगेर संगठन निर्माणमा खट्नुपर्ने भनाइ राखिन् ।

यसैक्रममा मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले एमालेप्रतिको जनविश्वास बढाउन संगठनात्मक अनुशासन र वैचारिक स्पष्टता आवश्यक रहेको उल्लेख गरे । पौडेलले मिसन जागरण अभियानले पार्टीका संरचनाहरूलाई चलायमान बनाउने र आगामी दिनमा पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बैठकमा प्रदेश सचिवालय सदस्य एवम् पूर्व प्रदेश सांसद सुन्दर विक, प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद देवनारायण चौधरी, प्रदेश कमिटी सदस्यहरू किशोर शर्मा, सीता गुरुङ, हालै मनोनित भएका प्रदेश सदस्यहरू आनन्द थामी र इश्वर ढकाल, प्रदेश वित्त विभाग सदस्य दिनेश्वर ठाकुर, जिल्ला कमिटी सचिव अमृत शर्मा बजगाईं र जिल्ला सचिवालय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले बाराको लेखा समिति संयोजक रमेश सापकोटा, जिल्ला कमिटी सदस्यहरु, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु, नगरका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो।
बैठकले हालै रसुवामा आएको विनाशकारी बाढीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली अर्पण गरेको छ। साथै विपत्तिको घडीमा प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका काममा गम्भीर र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी पार्टीका संगठनात्मक गतिविधिलाई तीव्रता दिन बैठकले आगामी असोज महिनाभित्रै उपमहानगरपालिकाका सबै वडा अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले असोज महिनामै अगुवा युवा कार्यकर्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको नगर अध्यक्ष शाहले जानकारी दिए ।
बैठकमा सहभागी नेताहरुले मिसन जागरण अभियान सफल बनाउन र एमालेलाई अझ बलियो बनाएर अघि बढाउने सन्दर्भमा आफ्ना सुझावहरु राखेका थिए । बैठकमा हालै प्रदेश कमिटी बैठकबाट प्रदेश सदस्यमा मनोनित भएका थामी र ढकाललाई बधाई ज्ञापन गरिएको थियो ।
नगर उपाध्यक्ष कैमुदिन अंसारीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण रवीन्द्र खकुरेलले गरेका थिए ।







