रसुवा बाढीमा बेपत्ता बाराका पटेलको कुशको शव बनाएर अन्तिम संस्कार


eShilalekh

३१ भाद्र २०८३, बुधबार १५:३१

सिमराः रसुवागढी नाकामा आएको बाढीमा परी बेपत्ता भएका बाराका एक पुरुषको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका-२३ बैरापुराका सुभाषप्रसाद पटेलको बेपत्ता भएको २२ दिनसम्म पनि पत्तो नलागेपछि परिवारले धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरेका हुन् ।

गाडी मर्मत गर्ने काम गर्दै आएका पटेल गत भदौ ८ गते बिहान बाराबाट ट्रक बनाउनका लागि रसुवागढी नाकातर्फ गएका थिए । बाढी आउनुभन्दा केही समय अघि मात्र उनले रसुवागढी नाकाबाट आफ्नो घरमा भिडियो कल गरेर परिवारसँग कुराकानी गरेका थिए । तर भिडियो कलमा कुरा गर्दागर्दै अचानक ठूलो बाढी आएपछि उनी एकाएक बेपत्ता भएका थिए ।

त्यस दिनदेखि पटेलको अवस्था अज्ञात छ । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहेपछि निराश बनेको परिवारले बुधबार कुशको प्रतीक शव बनाएर दाहसंस्कार गरेको हो ।

स्थानीय सुरेश पटेलका अनुसार बुधबार बिहान १० बजे बैरापुरस्थित बंगरी नदीको घाटमा उनको धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरिएको छ । बेपत्ता पटेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्