विशेष अदालतबाट सफाइ पाएका मेयर सिंहले गरे पदभार ग्रहण

सिमराः लिखतसम्बन्धि मुद्धामा विशेष अदालतबाट सफाइ पाएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहले तीन महिनापछि बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते छोरीको नागरिकता बनाउँदा गलत लिखत पेस गरेको आरोपमा मुद्दा दायर गरेपछि उनी मेयर पदबाट निलम्बनमा परेका थिए ।
उक्त मुद्धाको सुनुवाईका लागि मंगलबार भएको बहसमा विशेष अदालतले सफाइ दिएपछि उनी स्वतः मेयर पदमा पुनर्वहाली भएका हुन् । आफ्नो कार्यकक्षमा हिन्दु धार्मिक रीतिरिवाज अनुसार पूजापाठ गरेपछि उनले पदभार सम्हालेका हुन् ।
सो अवसरमा कर्मचारी र समर्थकहरूलाई सम्बोधन गर्दै मेयर सिंहले राजनीतिक प्रतिशोध र व्यक्तिगत रिसबीका कारण आफूविरुद्ध झूटा आरोप लगाइएको बताए । अदालतले न्याय दिएकोमा खुसी व्यक्त गर्दै उनले वीरगन्जवासीको टाउको निहुरिने गरी कुनै पनि गलत काम नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता जनाए । वीरगन्जलाई समृद्ध बनाउने आफ्नो अभियान देख्न नसक्नेहरूले आफूलाई दुःख दिएको उनको भनाइ थियो ।
आफू निलम्बनमा परेको समयमा महानगरपालिकाका केही कर्मचारीले सेवाग्राहीलाई दुःख दिएको गुनासो आएको भन्दै उनले त्यस्ता कर्मचारीहरूलाई तत्काल सच्चिन चेतावनी दिए । कर तिर्न आउने सेवाग्राहीलाई समेत हप्तौसम्म झुलाउने गरिएको प्रति आपत्ति जनाउँदै उनले सम्पूर्ण कर्मचारीहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् ।







