हिमालयन डेमोक्रेटिक क्लबद्वारा युलेसमा मतदाता सचेतना कार्यक्रम सम्पन्न


रामप्रसाद अधिकारी

१२ आश्विन २०८३, सोमबार २३:२१

टेक्सास (अमेरिका): स्थानीय नेपाली तथा हिमालय क्षेत्रका समुदायका सदस्यहरूलाई अमेरिकाको निर्वाचन प्रक्रियाबारे जानकारी दिने उद्देश्यका साथ एक सचेतता कार्यक्रम सम्पन्न भएको छ । युलेसस्थित एक सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

हिमालयन डेमोक्रेटिक क्लबद्वारा आयोजित सहभागीहरूले स्थानीय उम्मेदवारहरूसँग प्रत्यक्ष भेटघाट गरी कसरी आफ्ना जिज्ञासा तथा प्रश्नहरू राख्ने भन्ने जानकारी लिएका थिए । त्यसका साथै उम्मेदवारका योजना, प्राथमिकता र विचारहरूबारे नजिकबाट बुझ्ने र आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउने तरिकाका विषयमा जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली समुदायका अगुवाहरू टीका पौडेल, प्रभात दीक्षित र सुदीप अधिकारीले महत्त्वपूर्ण विषयहरूमा आफ्ना भनाइ राखेका थिए । `आफ्नो आवाज, हाम्रो समाज र बलियो भोलि´ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले समुदायका मानिसहरूलाई स्थानीय नागरिक अधिकार र निर्वाचन प्रक्रियासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्