सिमरामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

सिमरा: पथलैया-वीरगन्ज सडकखण्ड अन्तर्गत बाराको सिमरा चोकमा आइतबार राति एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जीतपुरसिमरा-१४ का २४ वर्षीय विधान त्रिपाठी, जीतपुरसिमरा-२ की २२ वर्षीय सुनिता गुम्बा र जीतपुरसिमरा-१५ का २१ वर्षीय समीर बुढाथोकी रहेका छन् । तीनै जना घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्जबाट आँखाको बिरामी लिएर काठमाडौं जाँदै गरेको म.प्र.०३-००१ च ७८६३ नम्बरको एम्वुलेन्सले सिमरा चोकमा सडक पार गर्दै गरेको बा.प्र ०३-००३ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने एम्बुलेन्सका चालक पाल्पा पूर्वखोला गाउँपालिका-३ का ३४ वर्षीय तोपबहादुर डेंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





