सिडनीको सेरोफेरो: १५ घण्टाको उडानदेखि दक्षिणी प्रशान्त महासागरसम्म

जीवनको पहिलो अन्तर्राष्ट्रिय उडान भर्नका लागि हामी चार जना ( म, मेरी श्रीमती, अनि हाम्रा सम्धी र सम्धिनी) २०८३ वैशाख १९ गते (मे ३, २०२६) काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका थियौ । उडान बिहान ११ः४५ कै थियो । तर केही ढिलाई हुँदा दिँउसो १ बजे मात्रै जहाजले जमिन छोड्यो । नेपालबाट चीनको सिचुवानसम्म लगभग ४ घण्टा र त्यहाँबाट थप ११ घण्टाको यात्रा गरी, १५ घण्टाको लामो उडानपछि भोलिपल्ट स्थानीय समय अनुसार बेलुका ५ बजे हामी अस्ट्रेलियाको मुटु ‘सिडनी’ टेकेका थियौं ।
विमानस्थलको एराइभल कक्षमा टेकिनेबित्तिकै छोरी-ज्वाइँलाई देख्दा हाम्रा आँखाहरू रसाए । एक वर्षअघि नै सिडनी पुगेकी अर्की छोरी (इन्सि) ले हाम्रो त्यो भावुक पुनर्मिलनलाई मोबाइलको क्यामेरामा कैद गरिरहेकी थिई । विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै गगनचुम्बी विशाल भवनहरू र त्यहाँको वातावरणले मनमा अचम्म र कौतूहल जगायो, मन ती दृश्यहरूलाई क्यामेरामा कैद गर्न आतुर भइहाल्यो ।
विमानस्थलबाट छोरीज्वाइँको बासस्थान ग्रान्डभिलतर्फ लाग्दा गाडी सुरुङमार्ग हुँदै हुइँकियो । सुरुङभित्रको ट्राफिक व्यवस्थापन, कसैले नियम नमिच्ने अनुशासन र ४० देखि ९० किमी प्रतिघण्टासम्म तोकिएको गति सीमाले अचम्मित बनायो । अनियन्त्रित गतिमा हिँड्नेलाई सिसी क्यामेराले तत्कालै कैद गरेर कारबाही गर्ने नियम देख्दा मनमा एउटै प्रश्न उब्जियो ‘हाम्रो नेपालमा यस्तो चेतना र नियमको पालना कहिले होला?’
ग्रान्डभिल पुगेकै साँझ फराकिला सडक, अग्ला भवन र पैदलयात्रीले पालना गर्नुपर्ने नियमहरूको प्रत्यक्ष अनुभव भयो ।

नेपाल छोडेर टाढा आए पनि हाम्रा धार्मिक आस्था र परम्परा जीवन्त थिए । मे ४ का दिन बिहानै झमझम पानी परिरहेको थियो । छोरीको इच्छा अनुसार हामी ट्रेन चढेर मिन्टोस्थित प्रसिद्ध शिव मन्दिर पुग्यौ। ट्रेनमा ओपल कार्डको प्रयोग, सफा वातावरण र मन्दिरमा गुञ्जिरहेको शिव भजन तथा आरतीले मनलाई प्रफुल्ल बनायो । मन्दिर दर्शनपछि स्थानीय बजारमा अस्ट्रेलियन माछाको परिकार चाख्ने मौका पनि मिल्यो ।
मे ६ तारिख हाम्रा लागि असाध्यै विशेष र गौरवशाली दिन थियो । छोरीले मास्टर डिग्री पुरा गरेकी थिई र उसैको दीक्षान्त समारोह (कनभोकेसन) मा सहभागी हुन हामी सिडनीको केन्द्र ‘टाउनहल’ पुगेका थियौ । हलभित्र पुग्दा अधिकांश नेपाली विद्यार्थी र तिनका अभिभावकहरूको उपस्थिति देखिन्थ्यो । ५०औं लाख खर्च गरेर, दिनरात पसिना बगाउँदै, कानुनी नियममा बाँधिएर अध्ययन गरिरहेका ती नेपाली युवाहरूको अनुहारमा आफ्ना बाबुआमालाई खुसी दिने अदम्य साहस देखिन्थ्यो । विदेशको कठोर जीवनका पीडाहरू लुकाएर अभिभावकका अगाडि मुस्कुराइरहेका ती भाइबहिनीहरूलाई देख्दा भावुक र गर्व महसुस भयो ।
कार्यक्रम सकिएपछि टाउनहल नजिकैको नेपाली रेस्टुरेन्ट ‘फलैचा’ मा गयौं । सयौं तला माथि आकाश छुने भवनहरूकोबीचमा नेपाली गीत गुञ्जिरहेको र नेपाली परिकारको बास्ना आइरहेको ठाउँमा पुग्दा एकछिन त नेपालमै छौ कि भन्ने भान भयो । त्यसपछि हामी सर्कुलर क्यु, डार्लिङ हार्बर, ओपेरा हाउस र पानीजहाज चढेर म्यानली राफ पुगी पहिलो पटक विशाल ‘दक्षिणी प्रशान्त महासागर’ सँग साक्षात्कार भयौ ।
सिडनीमा घुमफिरसँगै भेटघाटको शृङ्खला पनि जोडियो । कुनै समय विश्वकै सबैभन्दा ठूलो स्क्रिन मानिएको र २०२३ मा पुन: सञ्चालनमा आएको ‘आइएमएएक्स सिडनी’ हेर्ने मौका मिल्यो ।
मे ७ मा मेरा शिष्य प्रशान्त दुलाल, सिमराका छिमेकी इन्द्रप्रसाद दुलाल (दाइ) को परिवार र मित्र कुलबहादुर पण्डितको परिवारसँग भेट भयो । कुलबहादुरजीको सहजीकरणमा हामी सिडनीको ठूलो अस्पताल ‘वेस्टमिड’ पुगेर इन्द्र दाइसँग भलाकुसारी गर्न पायौ। त्यसै गरी फ्लेमिङटनको विशाल तरकारी बजार, प्यारामाटाका विशाल सपिङ मलहरू र मे १३ मा छोरीज्वाइँको पिआर र बसोबासको सिलसिलामा सिडनीबाट ७२ किमी टाढा रहेको ग्रसफोर्डको सुन्दर ग्रामीण वातावरण अवलोकन गर्यौ ।
मे १४ पछि नानी-बाबुहरू आ-आफ्नो काममा व्यस्त हुन थालेपछि हाम्रा दिनहरू ग्रान्डभिल नजिकैका ओभन पार्क, प्यारामाटा पार्क, वेस्टमिड पार्क र हरिस पार्कमा बित्न थाले । बिहानको एक घण्टा पैदल यात्रा, दिउँसो घाम ताप्दै नेपाली/हिन्दी सिनेमा हेर्ने र पार्कमा भेटिने झापाका तिवारी, स्याङ्जाका बस्यौला, बर्दिबासका चौलागाईं, काठमाडौंका डङ्गोल र बुटवलका ज्ञवालीहरूसँग गफिँदा दिन बितेको पत्तै हुन्थेन।

मे १६ मा हामी चारै जना दिनभरि वेस्टमिडको मैदानतिर निस्कियौ । त्यहाँ रूखहरूमा झुण्डिएका अस्ट्रेलियाका विशाल चमेराहरूको झुण्ड देख्दा साह्रै रमाइलो लाग्यो । मे १९ मा मेरील्यान्ड र मे २० मा गरसाइड पार्क घुम्दै ब्याडमिन्टन खेलेर समय बितायौ । त्यहाँको नियम, बालबालिकाप्रतिको सुरक्षा र मानिसहरूको आ-आफ्नो धुनमा रमाउने शैली साँच्चै अनुकरणीय थियो ।
मे २२ को दिन ओपेरा हाउसको वरिपरि ‘लाइट फेस्टिभल’ को झिलिमिली हेर्ने अवसर मिल्यो । ओपेरा हाउसको छानामा कोरिएका बत्तीका रङ्गीचङ्गी आकृतिहरू अद्भूत थिए । मे २३ मा ‘सी-लाइफ सेन्टर’ पुगेर पानीभित्रका एक्युरियममा ह्वेल, हाँस्ने माछा र अनेकौ सामुद्रिक जीवहरू नियाल्यौ ।
मे २५ मा ‘तरोङ्गा जुलोजिकल पार्क’ पुगी नेपालबाट ल्याइएको ‘हरि’ नामक गैँडा, चिम्पान्जी, सिंह, हात्ती र सिल माछाको आकर्षक खेल हेरेर मन्त्रमुग्ध भयौ ।
मे ३१ मा मेरा विद्यार्थी आतिस भट्टराईसँग ब्ल्याक्सल्यान्ड रिभरसाइड पार्क र जुन १ मा पुनः लाइट फेस्टिभल घुमियो । जुन ५ मा २०५६ सालतिर मसँगै शिक्षण गर्नुभएकी छिमेकी मुना मिससँग लामो समयपछि भेट हुँदा पुराना दिनहरूको सम्झना ताजा भयो ।
जुन १४ मा हामी सिडनीबाट १०० किमी टाढा रहेको विश्वप्रसिद्ध ‘ब्लु माउन्टेन’) तर्फ लाग्यौ । स्केनिक रेल्वे, केबलवे र स्काईवे चढेर ‘थ्री सिस्टर्स’ पहाडका थुम्काहरू र कोइलाखानीका भीरहरू हेर्दा प्रकृतिको सुन्दरतामा हराइयो । जुन १५ मा कायमा पुगी ‘ब्लोहोल’ र सामुद्रिक किनारको मज्जा लियौ । लगातारको घुमफिर र चिसो पानीका कारण केही दिन बिरामी परे पनि मेरो उत्साह घटेको थिएन ।

अस्ट्रेलिया पुगेर समुद्रमा पौडी खेल्ने धोको भने जुलाई ४ तारिखमा ‘क्रोनुला’ पुगेर पुरा भयो । फर्किनुअघि जुलाई २५ मा नर्थ सिडनीको कृष्ण मन्दिर पुगेर प्रसाद ग्रहण गर्यौ र ओपेरा हाउस क्षेत्रलाई पुनः एकपटक नियाल्यौ ।
जुलाई २६ (२०८३ साउन ११) का दिन अस्ट्रेलियाको ३ महिनाको अविस्मरणीय बसाइ सकेर चीनको सिचुवान हुँदै जुलाई २७ मा हामी काठमाडौं अवतरण गर्यौ । लामो उडानका कारण खुट्टा सुनिएका थिए, थकाइले ज्यान गल्दा पनि मन भने सम्झनाका मिठा पोकाहरूले भरिएको थियो । काठमाडौंमा केही दिनको विश्रामपछि साउन १५ (जुलाई ३०) मा बुद्ध एयरको उडानबाट आफ्नै गृहनगर सिमरा फर्कियौ ।
सिमराबाट सुरु भएर अस्ट्रेलियाका गगनचुम्बी भवन, शान्त पार्क, विशाल समुद्र र प्राकृतिक छटाहरू हुँदै पुनः सिमरासम्म आइपुगेको यो ३ महिनाको यात्रा जीवनकै एक सुन्दर र अविस्मरणीय अध्याय बनेर रहिरहनेछ । यो यात्रालाई सफल र सुखद बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
रामप्रसाद पोखरेल, जीतपुरसिमरा–२, बारा








