मानवसेवा आश्रमको पहलमा एक वर्षदेखि हराइरहेकी महिलाको पारिवारिक पुनर्मिलन

वीरगन्जः एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी महिलाको मानवसेवा आश्रम वीरगन्जको निरन्तर खोजी र समन्वयपछि पारिवारिक पुनर्मिलन भएको छ ।
भारतको मोतिहारी जिल्ला राजेपुर थाना, मोहम्मदपुर सागर गाउँ स्थायी घर भई विगत एक वर्षदेखि हराइरहेकी ती भारतीय महिलाको बिहिवार पारिवारिक पुनर्मिलन भएको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनी बाराले उद्धार गरी २०८३ असोज ७ गते बुधबार राति मानवसेवा आश्रम वीरगञ्जमा पुर्याएको थियो । आश्रमको तत्परतामा परिवारको पहिचान भएपछि महिलालाई उनका भाइ सोहन रायको जिम्मा लगाइएको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले जनाएका छन् ।
सडक तथा सार्वजनिक स्थानमा अलपत्र परेका व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पारिवारिक पुनर्मिलन गराउँदै आएका संस्थापक गुप्ताका अनुसार हराइरहेकी महिलालाई आफन्तको सम्पर्कमा ल्याई पुनर्मिलन गराउन सक्नु आश्रमको सेवाकार्यको ठूलो उपलब्धि हो ।
यस परोपकारी कार्यमा सहयोग पुर्याउने इलाका प्रहरी कार्यालय प्रसौनी, सामाजिक अभियन्ता विनय कुमार तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आश्रमले एक वर्षपछि परिवारसँग जोडिन पाएको यस घटनालाई मानवसेवाको महत्त्वपूर्ण सफलताका रूपमा लिएको छ ।







