कांग्रेस विवादः बारामा देउवा समूहको वडा अधिवेशन सुरु हुँदै

सिमराः नेपाली कांग्रेसभित्रको विवाद बढ्दै जाँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बिहीबारदेखि छुट्टै समानान्तर वडा अधिवेशन सुरु गर्दैछ । संस्थापन पक्षले १५औं महाधिवेशनको औपचारिक तयारी तीव्र पारिरहेकै बेला देउवा पक्षले पनि आफ्नै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै देशैभर एकसाथ अधिवेशन अगाडि बढाएको हो।
देउवा समूहले ६३ जिल्लामा निर्वाचन संयोजक खटाएर वडा अधिवेशन थालेको छ। यसैक्रममा बारामा निवर्तमान जिल्ला सभापति राजेश राय यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ। संस्थापन पक्षले भने यादवलाई निलम्बन गरी मनोज भट्टलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको थियो । भट्टको नेतृत्वमा बाराको चारा वटै क्षेत्रमा वडा, पालिका र क्षेत्रस्तरका सबै अधिवेशनहरू सम्पन्न भइसकेको छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले अहिले नै महाधिवेशन गर्न नहुने अडान देउवा पक्षको थियो । तर संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि देउवा समूहले पनि आगामी मंसिर २१ गतेका लागि १५औं महाधिवेशनको मिति तोक्दै समानान्तर कार्यक्रम सार्वजनिक गरेको हो ।
नयाँ कार्यतालिका अनुसार असोज २० मा पालिका, असोज २३ मा प्रदेश सभा क्षेत्र र मंसिर ४ गते प्रदेश अधिवेशन गरिने जनाइएको छ । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै देउवा समूह संस्थापनले डाकेको महाधिवेशनमा सहभागी भएको छैन ।







