सिरहाको गागन खोला पुलबाट ठूलो परिमाणमा गाँजा बरामद

सिरहा: सिरहाको सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको पुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले बुधबार राति एक हजार एक सय दुई किलो गाँजा फेला पारेको हो ।
प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारी साधन छाडेर फरार भएको प्रहरीको भनाइ छ । प्रहरीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स६प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको गाँजासहित गाडी र मोटरसाइकललाई सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वार्टर सिरहामा राखिएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे थप कानुनी कारबाही अघि बढाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।







