जीतपुरसिमरा-९ मा महिनावारी स्वच्छतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


eShilalekh

१६ आश्विन २०८३, शुक्रबार १२:०२

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ स्थित छातापिपरामा किशोरीहरूका लागि एकदिने महिनावारी स्वच्छतासम्बन्धी शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

इनरव्हील क्लब अफ वीरगञ्जको आयोजना तथा ‘लुमन्ती’ (सपोर्ट ग्रुप फर सेल्टर) को समन्वयमा आयोजित उक्त कार्यक्रममा विद्यालय नजाने १२ देखि १९ वर्ष उमेर समूहका ६९ जना किशोरीहरूको उपस्थिति रहेको थियो।

जीतपुरसिमरा उपमहानगरपालिका-९ का वडा अध्यक्ष मोतीलाल प्रसाद यादवको प्रमुख आतिथ्य तथा इनरव्हील क्लबकी अध्यक्ष डा. प्रीति गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी किशोरीहरूलाई निःशुल्क सेनेटरी प्याडसमेत वितरण गरिएको थियो।

कार्यक्रममा इनरव्हील क्लबकी सदस्य तथा स्वास्थ्यकर्मी रञ्जिता साहले महिनावारीका समयमा अपनाउनुपर्ने व्यक्तिगत सरसफाइ, सुरक्षित महिनावारी व्यवस्थापन तथा स्वास्थ्यका विविध पक्षबारे किशोरीहरूलाई सहजीकरण गरेकी थिइन्।

कार्यक्रम पश्चात् सहभागी किशोरीहरूले महिनावारीका विषयमा समाजमा हुने संकोच हटाएर खुलेर कुरा गर्न तथा यस अवधिमा अपनाउनुपर्ने स्वास्थ्य र सरसफाइका उपायबारे व्यावहारिक जानकारी पाउन यो कार्यक्रम अत्यन्तै उपयोगी साबित भएको प्रतिक्रिया दिए।

आयोजक पक्षले महिनावारीलाई केवल स्वास्थ्य र सरसफाइको विषयमा मात्र सीमित नराखी किशोरीहरूको शिक्षा, आत्मसम्मान र सामाजिक सहभागितासँग जोडेर हेर्नुपर्नेमा जोड दिएका छन्। यस्ता सचेतनामूलक अभियानले किशोरीहरूलाई आवश्यक स्वास्थ्य सामग्रीका साथै महिनावारीसम्बन्धी सही र वैज्ञानिक जानकारी प्राप्त गर्न ठूलो सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्