जीतपुरसिमराको कार्यपालिका सदस्य निर्वाचन भोली, एमालेको पक्षमा बहुमत


eShilalekh

१४ जेष्ठ २०७९, शनिबार १३:३५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचन आईतवार हुँदैछ । आठ जना कार्यपालिका सदस्य चयन गर्न निर्वाचन हुन लागेको हो ।

स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभा सदस्यमा निर्वाचित एक सय २२ जनाले कार्यपालिका सदस्य चयन गर्नेछन् । पाँच जना महिला र तीन जना दलित तथा अल्पसंख्यक पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

सहायक निर्वाचन अधिकृत बारालाम खड्काका जानकारी अनुसार नेकपा एमालेबाट आठ, नेकपा माओवादी केन्द्रबाट पाँच र नेपाली कांग्रेसबाट तीन जनाको उम्मेदवारी परेको हो । १६ जनाबाट महिला सदस्यतर्फ पाँच र दलित तथा अल्पसंख्यकतर्फ तीन जना निर्वाचित हुनेछन् ।

पाँच जना कार्यपालिकाको महिला सदस्यतर्फ एमालेले बुद्धकुमारी अधिकारी, पवित्रामाया कार्की, सुकुमाया कुमारी, रामपती थरुनी र मायादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । यसैगरी नेपाली कांग्रेसले विमलादेवी शर्मा, चित्रकुमारी विक, सितादेवी यादवलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले मनमाया घले र सुशिलादेवी थरुनीलाई अघि सारेको छ ।

कार्यपालिकाको महिला सदस्यका लागि उम्मेदवार बनेका सवै निर्वाचित वडा सदस्य हुन् । कार्यपालिकाको महिला सदस्यका लागि उम्मेदवार बन्न वडा सदस्यमा निर्वाचित हुनुपर्ने प्रावधान छ ।

यसैगरी निर्वाचित भन्दा बाहिरबाट ल्याउन सकिने दलित तथा अल्पसंख्यक पदका लागि एमालेबाट तीन र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ । एमालेबाट अर्जुन विक, प्रलाद साह सोनार र प्रभावती पासवान उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले कैमुदिन मिया मंसुरी, शिवजी प्रसाद साह सोनार र मानबहादुर सुनार उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिएका सोनार लोकतान्त्रिक समाजवादी पार्टीका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष हुन् भने सुनार नेकपा एकिकृत समाजवादीका हुन् । दुवैले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हुन् ।

कार्यपालिका सदस्य चयनका लागि निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली, उम्मेदवार मनोनयनलगायतका प्रक्रिया पूरा गरिसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिवार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।

एमालेको पक्षमा बहुमत

आठ जना कार्यपालिका सदस्य चयनका लागि हुने मतदानमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख, उपप्रमुख र २४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले मतदान गर्नेछन् ।

बैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट उपमहानगरपालिको नगर सभामा एक सय २२ जना निर्वाचित भएका छन् । निर्वाचितमध्ये एमालेसंग स्पष्ट बहुमत छ ।

नगर सभामा एमालेसंग उपप्रमुखसहित ६९, नेकपा माओवादी केन्द्रसंग प्रमुखसहित १९, कांग्रेससंग २४, लोसपासंग ६ र एकिकृत समाजवादीसंग चार जना छन् ।

एमाले बाहेक अन्य दलको संख्या ५३ रहेको छ । एमालेको ६९ जनाको मतलाई आधार मान्ने हो भने कार्यपालिका सदस्यमा आठै जना एमालेबाट निर्वाचित हुने देखिन्छ ।

यता एमालेपछि बढी सदस्य संख्या रहेको कांग्रेसले दलित तथा अल्पसंख्यक पदका लागि उम्मेदवारी दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्