वीरगन्जको क्यासिनोबाट कर्मचारीसहित पाँच नेपाली नागरिक पक्राउ


eShilalekh

४ कार्तिक २०८३, बुधबार १७:४१

वीरगन्जः वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले मंगलबार राति पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाराको पचरौता नगरपालिका-४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका-८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका-१ का ४७ वर्षीय सुवास कुमार, रौतहटको बौधीमाई नगरपालिका-९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद र क्यासिनो कर्मचारी बाराको परवानीपुर गाउँपालिका-५ का ३५ वर्षीय सुनिल पटेल रहेका छन्।

वीरगन्ज महानगरपालिका-१४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित ‘रोयल फिङ्गर गेमिङ जोन’ क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त सूचना अधिकारी विकास राईका अनुसार क्यासिनोमा नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले छापा मारेको थियो।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्