सिरहामा लागूऔषध गाँजासहित दुई जना पक्राउ

सिरहा : सिरहाको धनगढीमाई नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
धनगढीमाई नगरपालिका-१० डगर टोल स्थित सडकमा इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाको संयुक्त गस्ती टोलीले डगर टोलबाट जिरोमाइलतर्फ जाँदै गरेको म.प्र.०३-०३२ प ७५२ नम्बरको मोटरसाइकललाई चेकजाँच गरेको थियो।
जाँचका क्रममा प्लास्टिकका ६ वटा पोकामा लुकाएर राखिएको ६.२७० किलो लागूऔषध गाँजा बरामद भएपछि मोटरसाइकलचालक सिरहा विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर का ४१ वर्षीय शिव शंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै धनगढीमाई नगरपालिका १४ बिहिबारे टोलका ५६ वर्षीय झनक बहादुर ठकुरीको घरमा गाँजा लुकाइराखिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारको संयुक्त टोलीले छापा मारेको थियो।
खानतलासी गर्दा ठकुरीको घरभित्रबाट ३.५२० किलो र घर नजिकैको परे खोलाको कास घारीमा पहेँलो बोराभित्र राखिएको १२.७५० किलो गरी जम्मा १६.२७० किलो (बोराबाहेक १६ किलो) लागूऔषध गाँजा बरामद गरिएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
प्रहरीले दुवै घटनामा संलग्न साह र ठकुरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान अघि बढाएको छ।







