चोरीका घटना रोकथाम गर्न सुवर्ण गाउँपालिकामा टोल सुरक्षा समिति गठन गरिने

सिमराः चोरीका घटना बढ्न थालेपछि सुवर्ण गाउँपालिकाका वडामा सुरक्षा समिति गठन गरिने भएको छ । गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
पालिकाको विभिन्न वडामा भएको चोरीका घटनाहरू रोकथाम गर्न स्थानीय प्रहरी चौकी इन्चार्जसहित नगर प्रहरी समेत समेटेर टोल सुरक्षा समिति गठन गर्ने निर्णय गरिएको छ । निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत आमोदप्रसाद चौधरीले सबै वडा कार्यालयलाई पत्राचार गर्दै आ-आफ्नो वडामा टोल सुरक्षा समिति गठन गरी जानकारी गराउन अनुरोध गरेका छन् ।
बैठकमा गाउँपालिकाका अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत चौधरी, सशस्त्र प्रहरी निरीक्षक बद्री घरेल, सशस्त्र प्रहरी नायब निरीक्षक दामोदर घोरसाइने, वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रसाद नेपाल, प्रहरी सहायक निरीक्षक पुजई महरा, रमेश चनौ, शम्भु महतो केवट, मन्दिपकुमार कार्की र नगर प्रहरी प्रमुख रोज मोहम्मद मंसुर सहभागी थिए।







