ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले गरे महोत्तरी र रौतहटका ट्राफिक इकाईहरूको निरीक्षण

पथलैयाः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतले महोत्तरी र रौतहट जिल्लाका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका इकाईहरूको अनुगमन तथा निरीक्षण गरेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न बस्नेतले आफू मातहत रहेको कार्यालयको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा बस्नेतले कार्यसम्पादनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउन निर्देशन दिए । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र आम नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई जनमुखी बनाउन बस्नेतले जोड दिए ।
उनले चाडपर्वको समयमा हुने भिड्भाड्मा सवारी आवागमन सहज बनाउन, बजार क्षेत्रको व्यवस्थापन चुस्त राख्न, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउन नदिन, सवारी साधनको अनियन्त्रित गति नियन्त्रण गर्न, ओभरलोड बोक्न नदिन र ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिए ।
यससँगै बस्नेतले दुवै जिल्लाका मातहतका ट्राफिक प्रहरी इकाईहरूको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन र दैनिक कार्यसम्पादनको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।







