‘टीका लगाएर दक्षिणास्वरूप दिएको पदको अर्थ छैन’ भन्दै ठकुरीले अस्वीकार गरे जिम्मेवारी

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का पूर्ववडाध्यक्ष कृष्णबहादुर ठकुरीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश समितिले दिएको नगर सह-संयोजकको जिम्मेवारी अस्वीकार गरेका छन् । पालिकास्तरीय कार्यविभाजनअन्तर्गत प्रदेश समितिले कार्तिक २७ गते उनलाई जीतपुरसिमराको सह-संयोजक तोकेको थियो ।
जिल्ला समिति बाराको सिफारिसअनुसार ठकुरीलाई नगर सह-संयोजकको जिम्मेवारी दिँदै प्रदेश समितिले संगठन विस्तार, सदस्यता वृद्धि र पार्टीका नीति तथा निर्णय कार्यान्वयनमा सक्रिय रहन निर्देशन दिएको थियो । तर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ठकुरीले ‘टीका लगाएर दक्षिणास्वरूप दिइएको पदको कुनै अर्थ नरहेको’ टिप्पणी गरेका छन् ।
आफूलाई हाल पदको भीख माग्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले मार्क्स र लेनिनको दर्शन पढेको बताएर पुँजीवादको सिद्धान्तमा चुर्लुम्म डुबेकाहरूको झुण्डमा बस्न आफ्नो मनले नमानेको भन्दै नेतृत्वप्रति तीखो असन्तुष्टि पोखेका छन् । पार्टीले दिएको नगर सह-संयोजकको पद सम्हाल्न असमर्थ रहेको जानकारी पार्टी पंक्ति र अग्रज नेताहरूलाई गराउँदै उनले कम्युनिष्ट विचार र सिद्धान्त जुनसुकै ठाउँमा रहेर पनि जनताको पक्षमा आवाज बुलन्द गर्न सकिने बताएका छन् ।
उनले असहाय, हेपिएका र चेपिएका भुइँमान्छेहरूको पक्षमा सधैं क्रान्ति र विद्रोह गरिरहने तथा नगर र वडाका जनसमुदायको दुःखसुखमा निरन्तर साथ रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।





