सरकार सनकको भरमा चलिरहेको छः गगन थापा


eShilalekh

३० कार्तिक २०८३, सोमबार १८:४९

सिमराः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार सनक र लहडका भरमा चलिरहेको आरोप लगाएका छन् । बाराको सिमरामा सोमबार आयोजित पार्टी प्रवेश तथा भेलालाई सम्बोधन गर्दै थापाले वर्तमान सरकार विधिमा नचलेको टिप्पणी गरे ।

‘यो सरकारले ढंगले काम गरिहेको छ? विधिमा काम गरिरहेको छ?’ सम्बोधनका क्रममा थापाले भने ‘छैन, यो सरकार सनकका भरमा चलिरहेको छ । लहडका भरमा चलेको छ । सनक चलेकै भरमा निर्णय भईरहेको छ ।’

संसदीय प्रणालीमा सरकार र प्रतिपक्षको आ–आफ्नै जिम्मेवारी हुने बताउँदै सभापति थापाले प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो काम गरिरहेको बताए । सरकारलाई प्रश्न गरेकै कारण आफूहरुविरुद्ध षड्यन्त्र भईरहेको थापाको भनाई छ । यस्तो षडयन्त्रविरुद्ध लड्न कांग्रेस र आफूसँग पर्याप्त तागत रहेको बताउँदै थापाले सत्य र न्यायको पक्षमा उभिन नछाड्ने बताए ।

थापाले पार्टीको आधिकारिकतासँग जोडिएर पछिल्लो समय आईरहेका कुराको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । ‘अहिले आईरहेको त्यस्ता सानातिना र झिंगे कुराको पछि नलाग्नुस् । यस्तो षड्यन्त्रले हामीलाई गलाउन सक्दैन’ थापाले कार्यकर्तालाई भने ‘नेपाली कांग्रेस र तपाईहरुको सभापतिलाई यस्तो कुराले विचलित पनि बनाउन सक्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएको उल्लेख गर्दै थापाले रास्वपाको आन्तरिक विषयमा कांग्रेसले हस्तक्षेप नगर्ने तर सरकारको निर्णयमाथि भने प्रश्न उठाउन नछाड्ने बताए । इतिहासमै सबैभन्दा उपयुक्त प्रतिपक्ष अहिलेको सरकारले पाएको दाबी गर्दै उनले सरकारलाई उपद्रो र चकचक छोडेर देशमा रोजगारी सिर्जना गर्न, अर्थतन्त्र सुधार गर्न र युवाहरूलाई देशमै रोक्ने वातावरण बनाउन सुझाव दिए । उनले सरकारको राम्रा काम र राम्रा प्रस्तावलाई कांग्रेसले सहयोग गर्ने बताए ।

पार्टीभित्रको आन्तरिक विषय र विशेष महाधिवेशनबारे बोल्दै सभापति थापाले समयको आवश्यकताअनुसार विद्रोह गरिएको र अब सबैलाई मिलाएर पार्टीलाई एकाकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आगामी पुसको पहिलो सातामा जिल्ला र प्रदेशका अधिवेशनहरू सकेर स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए । त्यसका लागि पहिला आमनागरिकका घरदैलोसम्म पुग्ने अभियान ल्याइने थापाको भनाइ छ ।

उम्मेदवार चयन गर्दा मनोनयनको केही घन्टा अगाडि मात्रै टिकट बाँड्ने पुरानो परिपाटीको अन्त्य गरिने स्पष्ट पार्दै उनले स्थानीय तहका उम्मेदवार चयन गर्ने अधिकार अब पार्टीका क्रियाशील सदस्यहरूको हातमा हुने बताए । क्रियाशील सदस्यले गर्ने निर्णयकै आधारमा पार्टीले थप निर्णय गर्ने बताए । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने समेत प्रष्ट पारेका छन् । गठबन्धन नहुँदा पार्टी र जनताका लागि काम गरेका धेरै योग्य व्यक्ति उम्मेदवार बन्न सक्ने थापाको भनाइ छ ।

थापाले छठ पर्व मनाउनका लागि आफू मधेस आएको विषयलाई राजनीतिसँग भन्दा पनि छठको महिमासँग जोड्न आग्रह गरे । उनले छठ पर्वकै माध्यमबाट नेपाली समाजलाई जोड्न र छठको महिमा देशभर बुझाउन आएको बताए । सभापति थापा सर्लाही र पर्साको छठघाटमा पूजा गरेर बारा आएका थिए ।

यसैगरी उक्त पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका कार्यकारिणी सदस्य सदस्य घनश्याम गिरी, जीतपुरसिमरा नगर सचिव प्रकाश गिरी, पूर्ववडाध्यक्ष सरोज पटेल, रामबाबु पटेललगायतका नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सभापति थापाले उनिहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्