सिमरामा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च’ सम्पन्न


eShilalekh

३ मंसिर २०८३, बिहीबार १७:३९

पर्यटन पूर्वाधार र द्विपक्षीय व्यापार विस्तारमा जोड

सिमराः नेपाल र भारतबीच आर्थिक सहकार्य, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सिमरामा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ सम्पन्न भएको छ । सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा बिहीबार आयोजित उक्त मञ्चमा पर्यटन, उद्योग, व्यापार, कृषि, उत्पादन, मानव संसाधन, संस्कृति तथा सूचना प्रविधिलगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा बृहत् छलफल भएको थियो ।

कार्यक्रममा नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने, भारतको रक्सौल विमानस्थलको सम्भावना उपयोग गर्नुपर्ने तथा सिमरा विमानस्थलको पूर्वाधार र सेवा विस्तार गर्नुपर्नेमा विशेष जोड दिइएको थियो । वक्ताहरूले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहे पनि आवश्यक पूर्वाधार र सेवाको विकास हुन नसकेको औंल्याउँदै सरकारसँगै निजी क्षेत्र, उद्योगी तथा पर्यटन व्यवसायीले व्यावहारिक पहल गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलका क्रममा पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन पूर्वाधारलाई चितवनको सौराहाको मोडलमा विकास गर्नुपर्ने, जनकपुरधामस्थित जानकी मन्दिरलाई पर्यटन गतिविधिसँग जोड्नुपर्ने तथा नेपालका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । त्यसैगरी सीमा वारपार गर्ने पर्यटकले यात्राका क्रममा भोग्नुपरेका असुविधा तथा दुर्व्यवहारको अन्त्य गरी सहज र सुरक्षित यात्राको वातावरण बनाउन दुवै देशका सम्बन्धित निकाय तथा दूतावासबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

मञ्चमा प्रस्तुत तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकमध्ये करिब ६० प्रतिशत मनोरञ्जन, २० प्रतिशत व्यावसायिक काम र २० प्रतिशत पर्वतारोहणका लागि आउने गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा पहिचान बनाइसकेको उल्लेख गर्दै पर्यटन पूर्वाधार, सेवा र व्यवस्थापनको गुणस्तर सुधार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । यसका साथै सीमा क्षेत्रमा भन्सारसम्बन्धी समस्या समाधान, द्विपक्षीय व्यापार प्रक्रिया सहजीकरण, मानव संसाधन विकास, सांस्कृतिक आदानप्रदान तथा सूचना प्रविधिको विस्तारका विषयमा समेत विमर्श भएको थियो ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीणाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्