सिरहाको सीमा क्षेत्रबाट १४ लाख बराबरका अवैध सामान बरामद


eShilalekh

१२ मंसिर २०८३, शनिबार १०:५१

सिरहा: सशस्त्र प्रहरी बलले सिरहा जिल्लाका विभिन्न सीमावर्ती इलाकाबाट एकै दिनमा १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले सञ्चालन गरेको विशेष जाँच तथा सीमा निगरानीका क्रममा ती सामान नियन्त्रणमा लिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका सामग्रीमा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामग्री रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सिरहा भन्सार कार्यालयमा बुझाइएको छ।

सीमा नाकाबाट हुने अवैध ओसारपसार तथा चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानीलाई कडाइका साथ निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्