रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरी नियन्त्रणमा


eShilalekh

१२ मंसिर २०८३, शनिबार १०:३५

रौतहट: रौतहटको बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्गा भगवती गाउँपालिका-५ की कलावती देवीको शव शुक्रबार बिहान बागमती किनारमा जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

मृतकका माइती पक्षले बुधबार राति श्रीमान् दिलिप दास तत्मासहित घरपरिवारका अन्य सदस्यले कुटपिट गरी कलावतीको हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। कुटपिटबाट मृत्यु भएपछि घटना लुकाउन शुक्रबार बिहान ४ बजे नदी किनारमा लगेर शव जलाइएको माइती पक्षको आरोप छ।

सोही जाहेरीका आधारमा प्रहरीले मृतकका श्रीमान्सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार घटनास्थलमा पुग्दा शवको छातीको भाग जल्न बाँकी रहेकाले सोही अवशेष नियन्त्रणमा लिई पोस्टमार्टमपछि माइती पक्षको जिम्मा लगाइएको छ। घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्