राजनीतिसंगै श्रेष्ठको ड्रागन फ्रुट खेती


eShilalekh

१५ असार २०७९, बुधबार १०:३९

सिमराः बारा निजगढका नेकपा एमालेका नेता एकबहादुर श्रेष्ठको दैनिकी राजनीतिमा मात्र सिमित छैन् । एमालेको मधेस प्रदेश कमिटी सदस्य समेत रहेका श्रेष्ठ राजनीतिसंगै व्यवसायिक खेतीतर्फ समेत आकर्षित छन् ।

लामो समयदेखी राजनीति गर्दै आएका श्रेष्ठ यतिबेला निजगढ ७ स्थित भमरोटलमा दुई वर्षअघि सुरु गरेको ड्रागन फ्रुट खेतीमा व्यस्त हुने गरेका छन् । स्वास्थ्यका लागि पनि अत्यन्तै महत्वपूर्ण फलका रुपमा लिइने श्रेष्ठ ड्रागन फ्रुट खेतीलाई अभियानकै रुपमा अघि बढाउने श्रेष्ठको योजना छ ।

कृषीमा रुची राख्ने उनि विज्ञसंगको परामर्शपछि ड्रागन फ्रुट खेतीमा आकर्षित भएका थिए । करिब २२ लाखको लागतमा श्रेष्ठले थालेको खेतीले अहिले उत्पादन दिन थालेको छ । १५ कठ्ठा जग्गामा लगाएको चार सय विरुवाले फल दिन थालेपछि श्रेष्ठ हर्षित छन् ।

श्रेष्ठको खेतमा फलेको ड्रागन फ्रुट र काक्रो ।

‘दुई वर्ष अघि थालेको खेतीले अहिले फल दिन थालेको छ, खुशी छु’ श्रेष्ठ भने ‘स्वास्थ्यका लागि अतिनै महत्वपूर्ण फल भएकाले बजारमा माग पनि बढ्दो छ । उत्पादन भएको फल बजार समेत पठाउन थालेको छु ।’

निजगढमै पहिलो पटक सुरु गरिएको खेतीको उनले प्रचार समेत गरिरहेका छन् । हरेक नागरिकले आफनो स्वास्थ्यलाई ध्यानमा राख्न जरुरी रहेको भन्दै उनले सबैले यो खेती गर्न सके सबलाई लाभ हुने उनको तर्क छ । उनले निजगढसहित बाहिरबाट आउने पाहुनालाई खेती देखाउन लैजाने र फल खुवाएर पठाउने गरेका छन् ।

‘धरैलाई यो खेतीको विषयमा थाहा छैन्, सबैले बुझ्न जरुरी छ’ श्रेष्ठले भने ‘यसले आम्दानीसंगै स्वास्थ्यलाई समेत फाईदा पुग्छ । त्यसैले यसको प्रचार गर्ने अभियानमा पनि छु ।’

एकहादुर श्रेष्ठ ।

भर्खरै उत्पादन सुरु भएपनि ड्रागन फ्रुटबाट प्रति कठ्ठा वार्षिक एक लाख ५० हजार भन्दा बढी आम्दानी हुनसक्ने श्रेष्ठको भनाई छ । क्यान्सर, सुगरलगायतका रोगविरुद्ध लड्न ड्रागन फ्रुट फलको महत्व बढी रहेको भन्दै श्रेष्ठले बजार मूल्यसमेत केही बढी रहेको बताए ।

विरुवा रोपेको दुई वर्षपछि फल उत्पादन सुरु हुने ड्रागन फ्रुट खेतीबाट २५ वर्षसम्म फल लिन सकिने उनले भनाई छ । उनले लगाएको चार सय विरुवामध्ये अहिले दुई सय ५० बोटबाट फल उत्पादन भईरहेको छ । एकचोटी लगाएपछि संरक्षणबाहेक खासै मेहनत गर्न नपर्ने ड्रागन फ्रुट लगाएको क्षेत्रमा अन्य तरकारी समेत उत्पादन गर्न सकिने हुँदा देशमै बसेर आत्मनिर्भर बन्ने सकिने बताए ।

‘रोजगारी खोज्दै बिदेशीनेको संख्या बढ्दो छ । हामी घरमै बसेर कृषीमा आत्मनिर्भर बन्न सक्छौ भन्ने सन्देश पनि दिन जरुरी छ’ उनले भने ‘कृषीमा आत्मनिर्भर बन्नका लागि अन्य खेतीमध्ये ड्रागन फ्रुट अहिले राम्रो विकल्पका रुपमा अगाडी आएको छ । यसलाई अभियानको रुपमा अघि बढाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्