‘ग्रे मार्केट’ ले धरासायी बन्दै मोबाइल व्यवसाय, एमडीएमएसको आश


eShilalekh

२८ भाद्र २०७९, मंगलवार १६:३३

सिमराः ग्रे मार्केट अर्थात मोबाइल बजारभित्रको अवैध कारोवार । नेपालको मोबाइल बजारमा यतिबेला सबैभन्दा चिन्ताको विषय बनेको छ ‘ग्रे मार्केट’ । जसले गर्दा नेपालभित्र मोबाइलको व्यवसाय खस्कदो अवस्थामा छ ।

अवैधरुपमा भन्सार छलेर अर्को देशबाट भित्रिने मोबाइलका कारण यो व्यवसायमा संलग्न रहेका व्यवसायी चिन्तित रहेका छन् । ग्रे मार्केटका कारण नेपालमा मोबाइलको कारोवार गर्ने इम्पोर्टर, डिष्ट्रिव्युटर र रिटेलरको लगानी डुब्ने अवस्थामा छ ।

हाल नेपालभित्रको मोबाइल बजारमा करिब ४० प्रतिशत ग्रे मार्केटको कारोवार रहेको व्यवसायीहरु बताउछ्न । ग्रे मार्केटको अन्त्य गर्न सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने निर्णय गरेपनि कार्यान्यवनमा भने आउन सकेको छैन् ।

एमडीएमएस प्रणाली लागु भए अर्को देशबाट भित्रिने मोबाइल कानुनी प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्ने हुन्छ । नेपाल दुरसञ्चार प्राधिकरणले २०७८ साउन १ गतेदेखी एमडीएमएस प्रणाली लागु गर्ने बताएपनि हालसम्म सो प्रणाली लागु गरिएको छैन् ।

सञ्जय अग्रवाल

पछिल्लो समय प्राधिकरणले २०७९ असोज १ गतेदेखी सो प्रणाली सुरु हुने बताउदै आएको छ । एमडीएमएस लागु गर्ने प्राधिकरणको पछिल्लो तयारीले व्यवसायी उत्साहित देखिन्छन् । मोबाइल फोन ईम्पोटर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सञ्जय अग्रवालले असोज १ गतेदेखि एमडीएमएस प्रणाली कार्यान्यवन आउने कुराले आफूहरु उत्साहित रहेको बताए ।

बाराको अमलेखगंजमा मोबाइल वितरक र खुद्रा विक्रेताबीच आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अग्रवालले अब पनि एमडीएमएस लागु नगरिए मोबाइल व्यवसाय माथी उठ्नै नसक्ने गरी धरासायी हुने बताए । ‘ग्रे मार्केटका कारण मोबाइल व्यवसायको लगानी सुरक्षित छैन । राज्यले प्राप्त गर्ने राजश्व पनि मरिरहेको छ’ अग्रवालले भने ‘यति हुँदासम्म त्यसलाई नियन्त्रण गर्न सरकारबाट चासो देखिदैन् ।’

अग्रवालले ढिलै भएपनि एमडीएमएस लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । सो प्रणाली लागु गराउन सरकारी निकायसंग नियमित बैठक र छलफल भईरहेको बताउदै अग्रवालले सुखद् समाचार आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

कोरोना संक्रमित भएका कारण कार्यक्रममा आउन नसकेका मोबाइल फोन ईम्पोटर्स एसोसियसनका केन्द्रीय अध्यक्ष दीपक मल्होत्राले भिडियो सन्देश पठाउदै एमडीएमएस लागु गर्न गृहकार्य अन्तिम चरणमा पुगेको बताएका थिए । ‘मोबाइल व्यवसायमा संलग्न सबै व्यवसायीका लागि आगामी दिन सुखद् हुन सक्छ’ भिडियो सन्देशमा मल्होत्राले भने ‘लामो समयदेखि रोकिएको एमडीएमस अब लागु हुँदैछ ।’

रघु त्रिपाठी

एसोसिएसनका केन्द्रीय महासचिव रघु त्रिपाठीले मोबाइलको व्यवसायमा संलग्न विक्रेता र व्यवसायीले पनि इमान्दारिता देखाउनुपर्ने बताएका छन् । देशमा ग्रे मार्केट फस्टाउदै जानुमा व्यवसायीको समेत कमजोरी रहेको त्रिपाठीको भनाई थियो । ‘ग्रे मार्केटको अनियमित बजार फस्टाउनुको कारण व्यवसायीको समेत कमजोरी हो । अवैध भित्रिएका मोबाइलको खरिदविक्री केही व्यवसायीले समेत गरिरहेको पाइन्छ’ त्रिपाठीले भने ‘जसले गर्दा व्यवसाय खस्केको हो । अब यसको नियन्त्रण एमडीएमएसले गर्नेछ ।’

सन्तोष भण्डारी

महालक्ष्मी मोबाइल प्रालिका कार्यकारी अधिकृत सन्तोष भण्डारीले एमडीएमएस लागु भएपछि मोबाइल व्यवसाय फस्टाउने मात्र नभई देशभित्र हुने अपराधिक गतिविधिको समेत अन्त्य हुने बताएका छन् ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी संघ बाराका अध्यक्ष मोहन कार्कीले एमडीएमएस लागु भए ग्रे मार्केटका कारण खस्केको मोबाइल व्यवसायलाई माथी उठ्ने बताए । कार्कीले मोबाइल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि व्यवसाय दिनानुदिन धरासायी बन्न पुगेको बताए । ‘रिटेलरलाई तोकिएको निश्चित मार्जिनमा पनि अस्वस्थ प्रतिस्पर्धा छ । जसले गर्दा व्यवसायलाई धरासायी बनाउने काम भईरहेको छ’ कार्कीले भने ‘मार्जिनमा प्रतिस्पर्धा भन्दा पनि एमआरपीमा कारोवार गर्न सकियो भने व्यवसाय स्थिर हुनसक्छ ।’

मोहन कार्की

बारा, पर्सा र रौतहट जिल्लाका मोबाइल बिक्रेताको सहभागिता रहेको कार्यक्रममा नेपाल मोबाईल वितरक संघका केन्द्रीय अध्यक्ष दिनेश चुल्याध्यो, मधेस प्रदेशका अध्यक्ष बृजमोहन साह कानु, वीरगन्जका युवा मोबाइल डिष्ट्रिव्युटर निशान लाठ, विकास पोद्धार, पवन सिस्का, जीतपुरका राजेश गुप्तालगायत सयौं व्यवसायीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्