देशलाई युवा नेतृत्व आवश्यक छः लामिछाने


eShilalekh

३० भाद्र २०७९, बिहीबार १०:१५

कलैयाः पूर्वसंचारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बाराको कलैयामा सम्पन्न भएको छ । भेलालाई पार्टीका केन्द्रीय अध्यक्ष लामिछानेले सम्बोधन गरेका छन् ।

कलैयास्थित भरत चोकमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले संचारकर्मीको भूमिकामा हुँदा गर्न नसकिएको काम गर्नका लागि आफू राजनीतिमा प्रवेश गरेको बताएका छन् । अन्य राजनीतिक दलका नेताले जस्तो भाषणमा भन्दा आफूले काममा विश्वास राख्ने दावी गरे ।

राजनीतिमा प्रवेश गरेपछि पहिलो पटक बारा आएका लामिछानेले देश परिवर्तनका लागि अबको नेतृत्व युवाको हातमा आउनुपर्ने बताए । उनले मधेसमाथी भईरहेको विभेदलाई अन्त्य गर्नका लागि आफ्नो नेतृत्वमा रहेको पार्टीले काम गर्ने दावी गरेका छन् ।

भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश संयोजक ममता शर्मा, केन्द्रीय सदस्य सबिना विक, रोशनकुमार अधिकारी, चन्दन सर्राफलगायतले मन्तव्य राखेका थिए । लामिछानेले विश्वप्रसिद्ध गढीमाई मन्दिर समेत दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्