अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको सेमिफाइनल समिकरण पूरा, भोली सेमिफाइनल र फाइनल खेल हुने


eShilalekh

३१ भाद्र २०७९, शुक्रबार १९:४०

सिमराः स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सिमरा रंगशालामा शुक्रवार सम्पन्न चार वटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका हुन् ।

पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३-१ ले पराजित गरेको हो । सिमराको जितमा विकर्ण श्रेष्ठले दुई र राजकुमार घिसिङले एक गोल गरेका थिए । हेटौडाका लागि उत्तरकुमार दुलालले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सिमराका विकर्ण श्रेष्ठ घोषित भए ।

यसैगरी सेमिफाइनलको यात्रा तय गर्ने क्रममा मोरङले वीरगन्जलाई १-० ले पराजित गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा मोरङका लागि डेनिङ राईले निर्णायक गोल गरेका थिए । डेनिङ खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाइनल खेलमा चितवनले वीरगन्ज युथ एकेडेमीमाथी ३-० जित हात पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । चितवनका लागि भरत गुरुङले दुई र रमेश थापाले एक गोल गरेका थिए । चितवनका रमेश थापा खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी चौथो क्वाटरफाइनल खेलमा दार्जलिङलाई १-० ले स्तब्ध पार्दै कलकत्ता सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलका लागि रन्जन सरकारले पेनाल्टीको सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए । कलकत्ताका गोलरक्षक नरेश धाली खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई नव जनजागृति युवा क्लब सिमराका पूर्वअध्यक्ष कासिम मियाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल र फाइलनका खेल हुनेछन् । आयोजक सिमरा भेट्रान क्लबका अनुसार सेमिफाइनलका खेल बिहान ७ बजेदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल सिमरा बी र मोरङबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेलमा चितवन र कलकत्ता भिड्नेछन् । सेमिफाइनल खेल सम्पन्न भएपश्चात शनिवार दिउसो ४ बजे फाईनल खेल हुनेछ ।

भारतका दुईसहित १६ टिमको सहभागिताको रहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता भदौ २९ गते सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्