अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधी मोरङलाई, चितवन स्तब्ध


eShilalekh

१ आश्विन २०७९, शनिबार २०:१४

सिमराः मोरङ भेट्रान क्लबले दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको उपाधी उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा चितवनलाई २-० ले स्तब्ध पार्दै पार्दै मोरङले उपाधी जितेको हो ।

मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरे । निर्धारित ५० मिनेटको खेलमा मोरङले डेनिमको गोलबाट अग्रता लिएको थियो । डेनिमले खेलको १३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

रोमाञ्चक उपाधी भिडन्तको ३३औ मिनेटमा मोरङका लागि धिमालले दोस्रो गोल गरेका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । प्रतिस्पर्धात्मक खेलमा गोल गर्ने थुप्रै अवसर बनाएपनि चितवनका खेलाडी फिनिसिङमा चुकेका थिए ।

उपाधी विजेता मोरङले ट्रफिसहित एक लाख ५० हजार र उपविजेता चिवनले ट्रफिसहित ७५ हजार प्राप्त गरेको छ । विधागत पुरस्कारतर्फ मोरङ हावी देखियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, उत्कृष्ट रक्षक मोरङका रमेशकुमार बस्नेत घोषित भए ।

यसैगरी उत्कृष्ट मिडफिल्ड चितवनका यमु राना घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधी सिमरा भेट्रानका गोपिप्रसाद भट्टले प्राप्त गरेका छन् । उनले प्रतियोगिता अवधीभर पाँच गोल गरेका थिए ।

विजेता, उपविजेता र विधागततर्फका खेलाडीलाई सिमराका युवा समाजसेवी श्यामबाबु गुप्ता, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, सिमरा भेट्रान क्लबका राजकपुर राउत, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा एमाले जीतपुरसिमरा २ का वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो ।

यसअघि फाईनलको खेलको उद्घाटन प्रमुख अतिथि गुप्ताले गरेका थिए । खेलको उद्घाटन गर्दै गुप्ताले भेट्रान फूटवललाई व्यवसायिक बनाउनुपर्ने बताए । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष दीपेन्द्र चौधरी, वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बा, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मा, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल, सहप्रयोजक युआर गोल्ड प्रिमियम मसला चियाका संचालक उमेश चौलागाई, रिता कंडेल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिरा बस्नेत, राष्ट्रिय युवा संघका नगर कमिटी अध्यक्ष आरिफ हुसेन, बारा जिल्ला फूटवल संघका उपाध्यक्ष घनश्याम चौधरी, महासचिव उदय श्रेष्ठ, नव जनजागृति युवा क्लबका उपाध्यक्ष शंकर थापा, महासचिव शम्भुसिंह ठकुरी, राधाकृष्ण मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठ, सिमरा खानेपानी उपभोक्ता समितिका पूर्वअध्यक्ष किशोर त्रिपाठी, नेपाल कराते संघ बाराका अध्यक्ष सानु पटेल, जीतपुरसिमरा १ का वडासदस्य अमन लामालगायतको उपस्थिती रहेको थियो ।

सिमरा भेट्रानका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतियोगिता संयोजक हरी चौधरीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजीकरण संचार संयोजक प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्