अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ उपयुक्तः विज्ञ प्रतिवेदन


eShilalekh

२ आश्विन २०७९, आईतवार १४:३८

सिमराः अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले निजगढनै उपयुक्त स्थान रहेको निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार साउन २६ गते सरकारले गठन गरेको विज्ञ समूहले आईतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त रहेको कारणसहित प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा प्रधानमन्त्री देउवालाई प्रतिवदेन बुझाएका थिए । विज्ञ समूहले बुझाएको प्रतिवेदनमा नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई(मधेस) द्रुतमार्ग र पूर्वपश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ । रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न एयरपोर्ट सिटीको अवधारणा त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ ।

प्रतिवेदनमा करिब ९ हजार हेक्टरको विमानस्थल संरक्षण क्षेत्र घोषणा गरी विभिन्न चरणमा विमानस्थल निर्माण गर्ने, करिब ४ हजार हेक्टर क्षेत्रफलमात्र विमानस्थल निर्माणको लागि उपयोग गर्ने, बाँकी क्षेत्रमा भएका रुखको संरक्षणलगायत नदी कटान रोकथाम तथा अन्य आवश्यक संरक्षणका कार्यको व्यवस्थापन गर्नुपर्ने, पहिलो चरणमा करिव एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र रुख कटानी गर्ने र बाँकी क्षेत्रमा दोश्रो चरण सुरु नभएसम्म रुख कटान नगर्न उल्लेख गरिएको छ ।

वातावरणमा प्रतिकुल असर नपर्ने गरी वातावरणीय व्यवस्थापन योजना तयार गर्ने गरी सोको कानुनी विधि र प्रक्रियाका साथै आवश्यक स्विकृती प्राप्त गरी विमानस्थल निर्माण कार्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्