चालु पूँजी कर्जा मार्गदर्शन खारेज गर्न उद्योगीव्यवसायीको माग, सिमरामा गरे प्रदर्शन


eShilalekh

२६ मंसिर २०७९, सोमबार १२:३०

सिमराः नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै सिमरामा सोमबार उद्योगीव्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायी आवद्ध संघसंस्थाले मार्गदर्शन खारेजीको मागसहित कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, जीतपुरसिमरा चेम्बर अफ कमर्स, होटल तथा पर्यटन व्यवसायी संघ बारा, यातायात व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, बारा जग्गा तथा आवास विकास संघलगायत बस्तुगत संघसंस्थाले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन खारेजीको माग गरेका हुन् ।

व्यवसायीले ‘करदाताको रक्षा गर’, ‘गरिखान देउ’ लगायतको प्लेकार्डसहित सिमरा बजारमा प्रदर्शन गरेका हुन् । व्यवसायीले कर्जा ब्याजदर घटाउन समेत माग गरेका छन् । विरोध प्रदर्शनमा जीतपुरसिमराका सयौं व्यवसायी सहभागी रहेका थिए ।

राष्ट्र बैंकले कार्तिक १ गतेदेखी लागु हुने गरी चालु पूँजी कर्जा मार्गदर्शन २०७९ जारी गरेको थियो । उक्त मार्गदर्शनले बैंक तथा वित्तिय संस्थालाई चालुपुँजी कर्जामा नयाँ व्यवस्था लागु गरेको छ ।

उद्योगी व्यवसायीले भने उक्त व्यवस्थाका कारण व्यापार व्यवसाय झन धरासायी बन्ने र मुलुकको अर्थतन्त्र गम्भिर स्थितीमा पुग्ने बताउदै आएका छन् । मुलुकको अर्थतन्त्र उकास्न र उद्योग तथा व्यवसाय धरासायी हुन नदिन मार्गदर्शन तत्कालका लागि भएपनि खारेज गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्