दुधौरामा सुरु भयो रमाईलो मेला, नगर प्रमुख पौडेलले गरे उद्घाटन


eShilalekh

५ माघ २०७९, बिहीबार २२:३९

सिमराः जीतपुरसिमरा १४ स्थित दुधौरा खोलामा विहिवारदेखि रमाईलो मेला सुरु भएको छ । मेलाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका छन् ।

मेलाको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले नगरको विकासका लागि आफूहरुले काम गरिरहेको र नगरबासीले अनुभूति हुने गरी काम लागिपरेको बताए । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि विभिन्न योजनाहरु अघि सारेर निर्माणको कामलाई अघि बढाएको नगर प्रमुख पौडेलको भनाई थियो ।

कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरको विकाससंगै नगरबासीले प्राप्त गर्ने सेवालाई सहज बनाउन पनि उपमहानगरपालिकाको कार्यालयले काम गरिरहेको बताए ।

कार्यक्रममा जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, १६ का वडाध्यक्ष हरिदेव खरेल, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, १२ का वडाध्यक्ष श्याबाबु खाँ, कार्यपालिका सदस्य मायादेवी चौधरीलगायत विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

मेला आयोजक लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङका अध्यक्ष बिमल खड्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुनिल गाँउलेले गरेका थिए ।

माघ २० गतेसम्म संचालन हुने मेलामा स्थानीय व्यापार व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले लिएको छ । मेला अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुती रहनेछ ।

उद्घाटन समारोहमा प्रवेश निःशुल्क गरेको आयोजकले शुक्रवारदेखि एक सय रुपैया मुल्य तोकेको छ । युवा समाज डुमरवाना सहआयोजकको रुपमा रहेको मेलाको व्यवस्थापनका लागि जीतपुरसिमरा वडा नं. १४ ले व्यवस्थापकिय सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्