पाइपलाइनबाट पेट्रोल आयात गर्न पूर्वाधार तयार गर्दै निगम


eShilalekh

१३ माघ २०७९, शुक्रबार ०९:५३

सिमराः पेट्रोलियम पाइपलाइनबाट डिजल आयात गर्दै आएको नेपाल आयल निगमले एक वर्षभित्र पेट्रोल ल्याउने गरी काम सुरु गरेको छ । २०७६ सालमा आएको मोतिहारी–अमलेखगंज पाइपलाइनबाट हाल डिजल मात्रै आयात हुँदै आएको थियो ।

उक्त पाइपलाइनबाट अब पेट्रोल पनि भित्राउने गरी निगमले काम सुरु गरेको नेपाल आयल निगमको अमलेखगंजस्थित प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले जानकारी दिएका छन् । सन् २०२४ को जनवरीभित्र पेट्रोल आयात गर्न सकिने गरी पूर्वाधार निर्माणको काम सुरु गरिएको यादवले बताए ।

उक्त कार्यका लागि इण्डियन आयल कर्पोरेसन र पूर्वाधारको निर्माणको जिम्मा पाएको लिखिता इन्फास्ट्रक्चर प्रालिबीच सम्झौता समेत भइसकेको छ । सम्झौता अनुसार २४ वटा स्वचालित ‘लोडिङ बे’ पम्प घर, अत्याधुनिक प्रयोगशाला, तेल र पानी सेपेरेटर, पीएमसीसी कक्ष निर्माण हुनेछन् भने फायरफाइटिङ प्रणालीको स्तरोन्नति गरिनेछ । यसैगरी साइट सर्भे, संरचनाको वास्तविक रेखांकन र सिभिल कार्य अन्तर्गतका काम सुरु गरिएको प्रमुख यादवले बताए ।

पेट्रोल आयातका लागि अमलेखगंजमा ४१ लाख लिटरका दुई वटा पेट्रोल भण्डारण कक्ष र दुई लाख ५० हजार लिटरका दुई वटा ट्रान्समिक्स इन्धन भण्डारण कक्ष निर्माण गर्ने तयारी थालिएको छ । उक्त पूर्वाधार तयार भएपछि निगमले एकैपटक एक करोड १६ लाख पेट्रोल भण्डारण गर्न सक्छ ।

यसअघि निगमसंग ३० लाख ३० हजार पेट्रोल भण्डारण गर्ने सकिने पूर्वाधार थियो । पेट्रोल बाहेक निगमले हाल एक करोड ९८ लाख ४० हजार डिजल र सात लाख ६० हजार लिटर मट्टितेल भण्डारण गर्दै आएको छ ।

पेट्रोल आयातका लागि पूर्वाधार तयार गर्न एक करोड ५४ लाख भारतीय रुपैया खर्च हुनेछ । यसअघि पाइपलाइन निर्माणका क्रममा दुई अर्ब खर्च भएको थियो । दोस्रो चरणको काम अन्तर्गत भण्डारण कक्षबाहेक अन्य खर्च नेपाल आयल निगमले व्यहोर्ने छ । भण्डारण कक्ष भने आइओसीले निर्माण गरिदिनेछ ।

पाइपलाइन निर्माण सुरु हुनुअघि पहिलो चरणमा आइओसीले र दोस्रो चरणमा एओसीले खर्च गर्ने सहमती भएको थियो । सोही सहमतीअनुसार आइओसीले तीन वर्ष अघि पाइपलाइन निर्माण गरेको थियो । उक्त पाइपलाइनबाट पेट्रोल आयात गर्नका लागि दोस्रो चरणको काम सुरु भएको हो ।

दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइनको रुपमा रहेको मोतिहारी–अमलेखगंज पाइपलाइनबाट फरक किसिमका इन्धन ढुवानी गर्न सकिन्छ । उक्त पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ९४ हजार लिटरसम्म इन्धन आयात हुन्छ । निगमले भने हाल प्रति घण्टा एक लाख ९३ हजार लिटर डिजल ढुवानी गर्दै आएको छ ।

पाइपलाइनबाट पेट्रोल आयात भए निगमले हाल ढुवानीमा व्यहोर्दै आएको खर्च कटौती हुनेछ । तीन वर्ष अघि पाइपलाइनबाट डिजल आयात गर्दा निगमले अर्बौ रकम बचत गर्न सफल भएको थियो । डिजलसंगै पेट्रोल पनि आयात गर्न सके ठुलो रकम बचत हुने प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्