पथलैयास्थित माध्यमिक विद्यालय ५०औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम


eShilalekh

२२ माघ २०७९, आईतवार १०:४८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको छ । २०२९ सालमा स्थापना भएको विद्यालय ५० वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा पारेर विद्यालय स्वर्ण जयन्ती विशेष समारोह गर्दै साताव्यापी कार्यक्रम गर्ने भएको छ । विद्यालयले माघ २२ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्नेछ ।

विद्यालयका प्रध्यानाध्यापक शम्भु मण्डलका अनुसार वार्षिकोत्सवको अवसरमा स्तम्भ निर्माण, अक्षय कोष स्थापना, स्मारिका प्रकाशन, अभिभावक शिक्षा कार्यक्रम, खेलकुद प्रतियोगिता र सम्मानका कार्यक्रम हुनेछ । साताव्यापी कार्यक्रमको अन्तिम दिन माघ २८ गते विद्यालयमा कार्यक्रमको आयोजना गर्दै वाषिकोत्सव मनाउने तयारी रहेको प्रध्यानाध्यापक मण्डलले जानकारी दिए ।

वार्षिकोत्सव समारोहलाई सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आलेको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ भने विभिन्न उपसमिति गठन गरिएको छ । उपसमितिले साताव्यापी कार्यक्रमको तयारी गर्दै आएका छन् ।

यसरी स्थापना भयो विद्यालयः
पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय…पूर्वाधारका हिसाबले यतिबेला सम्पन्न नै देखिन्छ । दुई विगाह १२ कठ्ठा क्षेत्रफलमा फैलिएको यस विद्यालय परिसरभित्र कक्षाकोठा, सभाहल, प्राविधिक ल्याब, पुस्तकालय, बाल उद्यान, मञ्च, चमेना ह, बास्केटबल कोर्ट, प्यारापिट, मन्दिरलगायतका पूर्वाधारमध्ये केही प्रयोगमा छन् भने केही निर्माणाधिन अवस्थामा छन् ।

त्यतिमात्र नभई यस विद्यालयसंग ब्यापारिक प्रयोजनका सटरहरु समेत छन् । उक्त सटरहरुबाट विद्यालयले नियमित स्रोत जुटाईरहेको छ । त्यसबाहेक विद्यालयसंग दुई वटा स्कुल बस छ । मन्टेश्वरीदेखि कक्षा १२ सम्म झण्डै ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा प्रवेश गर्ने जो कोही पनि यी पूर्वाधार र संरचना देखेर दंग पर्छन् । शैक्षिक संस्था पूर्वाधारका हिसाबले यसैगरी सम्पन्न र व्यवस्थित हुनपर्छ भन्दै यस विद्यालयलाई उदाहरणका रुपमा समेत प्रस्तुत गर्न थालिएको छ ।

पक्कैपनि ५० वर्ष अगाडीको दिन स्मरण गर्दै विद्यालयसंग हाल उपलब्ध यी पूर्वाधार हेर्ने हो भने उदाहरणीय र प्रशंसायोग्य छन् । पथलैया–ढल्केबर सडकखण्ड निर्माण गर्ने क्रममा विक्रम सम्वत् २०२१ सालमा तत्कालिन सोभियत संघले बनाएको यी सानो भवनबाट सुरु भएको विद्यालयमा यतिबेला कक्षा १२ सम्म अध्ययन अध्यापन भईरहेको छ ।

रुसले एक सय नौ किलोमिटर सडकखण्ड निर्माण गर्ने क्रममा पथलैयामा थुप्रै पूर्वाधार खडा गरेको थियो । ती पूर्वाधारमा अहिले राजश्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, डिभिजन सडक कार्यालय, विद्यालय जस्ता कार्यालय र संस्था संचालनमा छन् । बिक्रम सम्वत् २०२८ सालमा पथलैया–ढल्केबर सडकखण्ड निर्माण सम्पन्न भएपछि सोभियत संघले उक्त पूर्वाधार तत्कालिन सरकारलाई हस्तान्तरण गर्यो । उक्त भवन खाली भएपछि स्थानीयको सक्रियतामा २०२९ सालमा पथलैयामा विद्यालय स्थापना गरियो ।

चारकोशे जंगलले चिनिने पथलैयामा त्यसताका न बाक्लो बस्ती थिए न त कुनै अन्य पूर्वाधार बनेको थियो । पूर्वाधार अभावकै बीचमा मजदुर बस्नका लागि बनाइएको उक्त भवन खाली भएपछि स्थानीयले विद्यालय स्थापना गर्ने जमर्को गरे । त्यसलगत्तै स्थानीय नरेन्द्र लिम्बुले शिक्षकको रुपमा पहिलो पटक विद्यालयमा अध्यापन गराउन सुरु गरे । त्यसको केही समयपछि कृष्णचरण श्रेष्ठ अर्का शिक्षकको रुपमा जोडिए । सडक निर्माणका लागि आएको रुसी प्रोजेक्टबाटै लिम्बु र श्रेष्ठलाई केही समय सेवासुविधा समेत उपलब्ध गरियो ।

कक्षा ३ सम्मको अनुमती लिएर सुरु भएको विद्यालयमा केही समयपछि संस्थापक प्रध्यानाध्यापकको रुपमा पथलैयाकी मिना गुरुङले जिम्मेवारी सम्हालिन् । लामो समय प्रध्यानाध्यापककै भूमिकामा रहेर अध्यापन गरेकी गुरुङको अहिले निधन भईसकेको छ । गुरुङको निधन हुनुअघि विद्यालयले माध्यमिक तहको अध्यापन गराउने अनुमती प्राप्त गरिसकेको थियो । २०५३ सालमा निम्न माध्यमिक तहको अध्यापन गराउने अनुमती लिएको विद्यालयले त्यसको एक दशकपछि अर्थात २०६३ सालमा माध्यमिक तहको अनुमती पाएको थियो ।

हाल कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको विद्यालयले आगामी शैक्षिक सत्रदेखि प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने लक्ष्य बोकेको छ । स्थापनाको ५० वर्षमा आईपुग्दा प्राविधिक जनशक्ती उत्पादन गर्ने लक्ष्य लिएको विद्यालयले यसै महिनाको अन्तिम साता स्वर्ण जयन्ती उत्सव मनाउने तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्