छुट्टाछुट्टै दुर्घटनाका दुई घाइतेको उपचारका क्रममा मृत्यु


eShilalekh

२० फाल्गुन २०७९, शनिबार १७:१३

सिमराः बारामा छुट्टाछुट्टै दुर्घटनामा परी घाईते भई उपचाररत दुई जनाको शनिवार मृत्यु भएको छ । उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा एक भारतीय नागरिक समेत छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका ९ रामपुरटोल बस्ने ३५ वर्षीय रहिम अंसारी र भारत बिहार पूर्वी चम्पारणका २७ वर्षीय भैयाराम साह रहेका छन् । अंसारीको वीरगन्ज हेल्थ केयर र साहको एलएस न्युरो अस्पताल परवानीपुरमा निधन भएको हो ।

अंसारीलाई शुक्रवार मोटरसाईकलले ठक्कर दिदा घाइते भएका थिए । अंसारीलाई कलैया १४ हनुमान मन्दिरस्थित बघवनबाट कलैयातर्फ आउदै गरेको ना२प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका अंसारीको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको थियो ।

यसैगरी अर्का मृतक साहको फागुन १५ गते सुवर्ण गाउँपालिका ६ धर्मपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको थियो । भारतबाट जोलगावातर्फ आउदै गरेको बिआर०५एजी १२८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक साह घाईते भएका थिए । दुर्घटनापछि उनको एलएस न्युरोमा उपचार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्