जगदम्बा जीतपुरसिमरा गोल्डकप आजदेखि, चितवन र आयोजकबीच उद्घाटन खेल


eShilalekh

९ चैत्र २०७९, बिहीबार ०७:५३

सिमराः मोफसलकै प्रतिष्ठत फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप बिहिवारदेखि सुरु हुँदैछ । सिमरा रंगशालामा साँझ ५ः३० बजे प्रतियोगिता सुरु हुनेछ ।

फ्लड लाईटमुनी हुने प्रतियोगिताको उद्घाटन खेल भरतपुर फूटबल क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच हुनेछ । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् ।

चैत्र १८ गते संचालन हुने प्रतियोगितामा ए डिभिजन पाँचसहित १० टिमको सहभागिता रहनेछ । आयोजकका अनुसार प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुनेछन् । एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्र्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदयीमान खेलाडीले नगद १५ हजार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्