जगदम्बा जीतपुरसिमरा गोल्डकपः वीरगन्ज क्वाटरफाइनलमा


eShilalekh

१० चैत्र २०७९, शुक्रबार २२:३५

सिमराः बागमती युवा क्लबलाई पन्छाउदै वीरगन्ज युनाइटेड क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा बागमतीलाई ३–० ले पराजित गर्दै वीरगन्जले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

वीरगन्जको जीतमा विवेक चौधरीले दुई र कृपा चौधरीले एक गोल गरे । बि डिभिजनको क्लब वीरगन्जले तीन वटै गोल दोस्रो हाफमा गर्दै जित निकालेको हो । सि डिभिजनको क्लब बागमतीविरुद्ध वीरगन्जले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर बनाएपनि गोल गर्न सकेनन् । खेलमा सुरुवाती लय बनाउन नसकेको वीरगन्जले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कियो । पहिलो हाफमा गोलका लागि निकै संघर्ष गरेको वीरगन्जले खेलको ५४औं मिनेटमा खाता खोलेको थियो ।

वीरगन्जका कप्तान विवेक चौधरीले टिमलाई अग्रता दिलाएका थिए । बागमतीका डिफेन्स कामागाते मउसालाई बिट गर्दै विवेकले खेल १–० को स्थितीमा पुर्याएका थिए । त्यसलगत्तै कृपा चौधरीले अर्को गोल थपे ।

खेलको ५६औं मिनेटमा कृपाले सानदार गोल गर्दै टिमको अग्रता दोब्बर पारेका हुन् । सागर चौधरीले डिबक्स भित्र मिलाएको ब्याक पासलाई सदुपयोग गर्दै कृपाले आकर्षक गोल गरेका थिए ।

बागमतीविरुद्ध २–० को अग्रता लिएपछि वीरगन्ज खेलमा हाबी देखियो । बागमतीले दोस्रो हाफमा खासै आकर्षक अवसर सिर्जना गर्न सकेन । बागमतीलाई दवावमा राखेको वीरगन्जले खेलको ८६ औं मिनेटमा तेस्रो गोल थपेको थियो ।

वीरगन्जका डिफेन्डर संजय चौधरीले निकालेको लामो पासलाई सदुपयोग गर्दै विवेकले टिमको जित सहज बनाएका थिए । प्रतियोगितामा बिजयी सुरुवात गरेको वीरगन्जले आइतवार साविक बिजेता न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ । यता खेलमा राम्रो सुरुवात गरेपनि स्कोर निकाल्न नसकेको बागमती भने पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा दुई गोल गरेका विवेक खेलको म्यान अफ दि म्याच घोषित भए । उनले महालक्ष्मी बिकास बैंकद्धारा प्रायोजित १० हजार राशीको म्यान अफ दि म्याच पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिवार भरतपुर फूटबल क्लब र मकवानपुर ११ बीच खेल हुनेछ । आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै चितवनले मकवानपुर ११ संगको भेट पक्का गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा बिहिवारदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्