हिमालयन शेर्पा १० वर्षपछि जगदम्बा जीतपुरसिमरा गोल्डकपको फाइनलमा


eShilalekh

१५ चैत्र २०७९, बुधबार २३:०७

सिमराः खेलको ७४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको स्थानमा मैदान पसेका निशान लिम्बु चम्किएपछि हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा मकवानपुरमाथी ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो ।

दोस्रो संस्करणको विजेता समेत रहेको शेर्पालाई अन्तिम दुईमा पुर्याउने क्रममा निशान लिम्बुले दुई र सुशिल राईले एक गोल गरे । जितसंगै जीतपुरसिमरामा पछिल्लो १० वर्षदेखि लगातार खराब प्रदर्शन गर्दै आएको शेर्पालाई राहत मिलेको छ ।

२०६९ सालमा सम्पन्न चौथो संस्करणको फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबसंग पराजित भएयता जीतपुरसिमरा गोल्डकपमा शेर्पाको यात्रा सुखद् रहन सकेको छैन । झण्डै एक दशकपछि जीतपुरसिमराको उपाधी होडमा उभिने क्रममा शेर्पाले जारी सिजनमा मोफसलको दोस्रो प्रतियोगिताको फाइनल खेल खेल्ने अवसर समेत बनाएको छ ।

शेर्पा यसअघि फागुनमा सम्पन्न मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो । १५ लाख राशीको उक्त प्रतियोगितामा मनाङसंग १–० ले पराजित हुँदै शेर्पा उपविजेता बन्यो । मकवानपुर गोल्डकपछि शेर्पाले मोफसलका प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएको छ ।

सुदूरपश्चिम खप्तड गोल्डकप र बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपमा थ्रिस्टारसंग पराजित हुँदै शेर्पा जीतपुरसिमरा गोल्डकपमा सहभागी हुन आएको हो । दुई वटै प्रतियोगितमा थ्रिस्टारसंग निराश बन्न पुगेको शेर्पाका लागि जीतपुरसिमरामा यो पटकको यात्रा भने सुखद् रहन पुग्यो ।

ए डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई २–१ ले पन्छाएको शेर्पा मोफसलको मकवानपुर ११ माथी फराकिलो जित निकाल्दै तेस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको २९औं मिनेटमा अबियोमीको क्रसमा सुशिल राईले शेर्पालाई अग्रता दिलाएका थिए । डिबक्स भित्र अनमार्क रहेका सुशिलले अबियोमीको उत्कृष्ट पासलाई खेर फालेनन् । सुशिलको प्रहार नियन्त्रणमा लिन मकवानपुरका गोलरक्षक अनिश देउला असफल देखिए ।

शेर्पाले खेलमा अग्रता लिएपछि मकवानपुर दवावमा देखियो । भरतपुर फूटबल क्लबविरुद्ध टाइब्रेकरमा ४–३ को जित निकाल्दै शेर्पासंगको भेट पक्का गरेको मकवानपुरले लय देखाएपनि स्कोर निकाल्न भने सकेन् ।

यता शेर्पाले मकवानपुरविरुद्ध खेलमा बनाएको थुप्रै अवसर खेर फाल्यो । शेर्पाका कप्तान विश्वास श्रेष्ठ र स्ट्राइकर अबियोमीले थुप्रै अवसर गुमाए । सुरुवाती अग्रता जोगाउन शेर्पालाई हम्मेहम्मे परेको थियो ।

शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले खेलको ७४औं मिनेटमा विश्वासको स्थानमा निशानलाई मैदान पठाउने निर्णय लिए, जुन सहि सावित हुन पुग्यो । निशानले लगातार दुई गोल गर्दै जित सहज बनाए ।

खेलको ८७औं मिनेटमा मिलन राईले डिबक्स भित्र मिलाएको पासलाई निशानले सदुपयोग गरेका थिए । खामिर गिल्सनको स्थानमा निशानसंगै मिलन मैदान पसेका थिए ।

खेलको अन्तिम समयमा अग्रता दोब्बर बनाएको शेर्पाले इन्जुरी समयमा एक गोल थप्दै फराकिलो जित निकालेको हो । पाँच मिनेट थपिएको इन्जुरी समयमा निशानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । मकवानपुरका सुदीप सापकोटाको फितलो क्लियरेन्स बललाई निशानले पोष्टको दिशा दिएका थिए ।

निशान खेलको म्यान अफ दि म्याच घोषित भए । उनले महालक्ष्मी विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच वापत १० हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहिवार चर्च ब्वाइज युनाइटेड क्लब र न्युरोड टिम एनआरटीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्