१५ मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्रः सिडिओले गरे केन्द्राध्यक्षसहित पाँच जनालाई निलम्बन


eShilalekh

१७ चैत्र २०७९, शुक्रबार १५:२५

सिमराः बारामा एसईई परिक्षा सुरु भएको पहिलो दिन नै प्रश्नपत्र बाहिरिएको छ । आदर्शकोतवाल गाँउपालिका १ च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालय जयनगर परिक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।

परिक्षार्थी सुरुभएको १५ मिनेटमै परिक्षा र्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको फोटो पठाएका थिए । परिक्षा केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो ।

जनता माध्यमिक विद्यालय कचोर्वाका परिक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाएका थिए । ह्वाट्सएप ग्रुपमार्फत प्रश्नपत्रको फोटो बाहिरएपछि परिक्षा केन्द्र बाहिर मोबाइल हेर्न भिड् लागेको थियो । मोबाइलमा प्रश्नपत्र हेर्न भिड जम्मा भएपछि प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

‘परिक्षा केन्द्र बाहिर मोबाइल हेर्न सबै झुम्मिएपछि शंका लागेर प्रहरीले बुझ्ने क्रममा प्रश्नपत्र जानकारी पायौं’ प्रहरी उपरीक्षक बोगटीले इशिलालेखसंग भने ‘तत्कालै परिक्षार्थी र दीपकलाई मोबाइलसहित नियन्त्रणमा लियौ ।’

प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छने भने परिक्षार्थी साहलाई रिहा गरेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार परिक्षार्थी साहको पहिलो दिनको परिक्षा रद्ध गर्ने निर्णय गर्दै उनलाई छाडिएको र दीपकलाई कारवाहीका लागि मुद्धा प्रक्रिया अघि बढाउन लागिएको बताए ।

प्रहरी उपरीक्षक बोगटीले परिक्षा रद्ध गर्नुपर्ने स्थिती नरहेको बताए । उनका अनुसार प्रश्नपत्र बाहिरिएपनि उक्त ग्रुपमार्फत उत्तर भित्र गएको देखिदैन । परीक्षार्थीको मोबाइल र सामाजिक संजालको ग्रुपमा उत्तर गएको नदेखेपछि परीक्षा रद्ध गर्नुपर्ने अवस्थामा नरहेको बोगटीको भनाई छ ।

प्रहरीले परिक्षार्थी पवन र दीपकसंग मोबाइल नियन्त्रणमा लिएर ग्रुपमा रहेका सबैको विषयमा जानकारी समेत लिएको थियो । १० जनाको ग्रुपमा तीन जना परिक्षार्थी र सात जना बाहिरका ब्यक्ति थिए । तीन जना परिक्षार्थीमध्ये एक जना पवन रहेका छन् भने अन्य दुई अन्य परिक्षा केन्द्रका विद्यार्थी हुन् ।

प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित सुरक्षा निकाय, शिक्षा समन्वय इकाइ कार्यालयको टोली परिक्षा केन्द्र पुगेका थिए । प्रजिअ सापकोटाको नेतृत्वमा पुगेको टोलीले घटनाको विषयमा जानकारी लिदै उक्त परिक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहित पाँच जनालाई आगामी परिक्षा बाट निलम्बन गर्ने निर्णय गरेको छ ।

परिक्षा केन्द्रबाट निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, बिजयप्रसाद चौधरी, निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्ता रहेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा केन्द्रमै बसेको बैठकले उनिहरुलाई एसईई परिक्षा अवधीभरीका लागि निलम्बन गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त परिक्षा केन्द्रमा अन्य केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र निरीक्षक पठाईने बताए । परिक्षालाई मर्यादित बनाउन जिम्मेवारी दिइएका व्यक्तिको लापरवाही देखिएपछि उनिहरुलाई तत्काल निलम्बन गरिएको प्रजिअ सापकोटाको भनाई छ ।

प्रजिअ सापकोटाले आगामी परिक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि निर्देशन दिइएको र त्यसैअनुसार आवश्यकता परेका स्थानमा सुरक्षा संयन्त्र थप गर्ने नगरी छलफल भईरहेको बताए । एसईई परिक्षा मर्यादित बनाउन प्रजिअ सापकोटाले यसपटक परिक्षा केन्द्र परेको विद्यालयमा प्राथमिक तहका शिक्षकलाई गार्ड राख्न सुरुवात गरेका थिए ।

अघिल्ला वर्षमा परिक्षार्थी अध्ययरत बिद्यालयका शिक्षकनै पुगेर गार्ड बस्ने गरेका थिए । यससंगै प्रजिअ सापकोटाले जिल्लको ३२ वटा परिक्षा केन्द्र अनुगमन गर्न १६ वटा अनुगमन समिति बनाए ।

आफ्नो नेतृत्वमा चार सदस्यीय र सरकारी कार्यालयका प्रमुख कर्मचारीको नेतृत्वमा तीन सदस्यीय अनुगमन समिति बनाएर परिक्षालाई मर्यादित बनाउन प्रयास गरेका छन् । परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्षलाई भेला गरेर परिक्षा मर्यादित बनाउन जोड दिदै आएका प्रजिअ सापकोटा प्रश्नपत्र बाहिरएको घटनाले आफूहरुलाई सचेत समेत गराएको बताए ।

शिक्षा समन्वय इकाइ बाराका प्रमुख श्यामकिशोर प्रसाद उक्त घटनाबाहेक जिल्लाका अन्य स्थानमा मर्यादित ढंगले परिक्षा सम्पन्न भएको बताए । उनले यस्तो घटना दोहोरिन नदिन र परिक्षालाई मर्यादित वातावरण सम्पन्न गर्न तत्कालै बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।

एसईई परिक्षाका लागि बारामा ३२ वटा परिक्षा केन्द्र तोकिएका छन् । जसमा ९ हजार ६ सय ७९ परिक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्