जीतपुरसिमरामा कक्षा ८ को परिक्षाफल प्रकाशित हुँदै, नतिजा निराशाजनक, केही विद्यालय शून्य


eShilalekh

२० चैत्र २०७९, सोमबार २२:२१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ को परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले परिक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको शिक्षा शाखाका अधिकृत हरिश भट्टका अनुसार सोमबार रातीनै हेर्न मिल्न गरी नतिजा प्रकाशनको तयारी भईरहेको बताए । ‘प्राविधिक समस्या नआए आजै हेर्न मिल्छ, समस्या देखिएमा भोली बिहानसम्म प्रकाशन गर्नेछौ’ भट्टले भने ।

उपमहानगरपालिकाको कार्यालयले प्रकाशित गर्न लागेको परिक्षाको नतिजा भने निराशाजनक रहेको शिक्षा अधिकृत भट्टले जानकारी दिए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अत्यन्तै निराशाजनक र केही विद्यालयको नतिजा शुन्यको स्थितीमा रहेको समेत भट्टले बताए ।

चैत ७ देखि १५ गतेसम्म संचालन गरिएको परिक्षामा ३४ सामुदायिक र २८ संस्थागत गरि ६२ विद्यालयका एक हजार नौ सय ८७ विद्यार्थी सहभागी थिए । कक्षा ८ को परिक्षामा सुधार ल्याउन उपमहानगरपालिकाले यसवर्ष १४ वटा परिक्षा केन्द्र तोकेर परिक्षा लिएको थियो । अघिल्ला वर्षमा सम्बन्धित विद्यालयमै परिक्षा हुने गरेको थियो ।

उपहानगरपालिकाले परिक्षा अघि उत्तरपुस्तिका कोडिङ डिकोडिङ गर्न र परिक्षा पछि उत्तरपुस्तिका जाँच गर्न फरकफरक शिक्षक तथा कर्मचारी परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्